ऐजेन्सी । गुजरात लायन्सलाई हराउँदै रोयल च्यालेन्जर्स बैंगलोर इण्डियन प्रिमियर लिग (आइपिएल)को फाइनलमा पुगेको छ।
गएराति भएको पहिलो क्वालिफार्स खेलमा गुजरात लायन्सलाई ४ विकेटले पराजित गर्दै बैंगलोर उपाधि नजिक पुगेको हो।
गुजरातले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको बैंगलोरले १० बल बाँकी छँदै ६ विकेट गुमाएर भेट्टाएको हो। रोयल च्यालेन्जर्स बैंगलोरको जितमा एबिडीभिलियर्स नायक भए।
टिमको खातामा २९ रन हुँदा ५ विकेट गुमाइसकेको बैंगलोरलाई फाइनलसम्म पुर्याउन एबिडिभिलियर्सले उत्कृष्ट पारी खेल्दै नट आउट ७९ रन बनाए।
भिलियर्ससँग ९१ रनको साझेदारी गरेका इक्बाल अब्दुल्लाहले पनि नट आउट ३३ रन जोडेका थिए।
बैंगलोरले दुबै ओपनरलाई सस्तैमा गुमाएको थियो। कप्तान विराट कोहलीलाई ० रनमा गुमाएको थियो भने क्रिस गेललाई ९ रनमा गुमाएको थियो। त्यस्तै बैंगलोरका अलराउण्डर सेन वाट्सन पनि १ रनमा आउट भएका थिए।
गुजरातका लागि धवन कुलकर्नीले ४ विकेट लिए पनि टिमको हार जोगाउन सकेनन्।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १५८ रन बनाएको थियो।
गुजरातलाई सम्मानजक अवस्थामा पुर्याउन डोयन स्मिथले ७३ रन बनाएका थिए। त्यस्तै दिनेश कार्त्तिकले २६ रन बनाएका थिए।
बैंगलोरकालागि सेन वाट्सनले ४ विकेट लिएका थिए।
गएरातिको जितसँग बैंगलोरले आइपिएलको फाइनल समेत होम ग्राउण्डमा खेल्ने मौका पाउनेछ।
बैंगलोरसँग पराजित भएपनि गुजरात प्रतियोगितामा कायमै छ। उसले अब फाइनल प्रवेशका लागि आज हुने सनराइजर्स हैदरावाद र कोलकोत्ता नाइट राइडर्सबीचको विजेतासँग फेरि क्वालिफार्स खेल खेल्नेछ।