काठमाडौं। सरकारले राष्टप्रमुख, प्रधानमन्त्रीलगायत पूर्वपदाधिकारीलाई योजना र आवश्यकता पहिचानै नगरी मनलागी सुरक्षाकर्मी बाँडिरहेको छ। कानुन अभावमा एउटै पूर्वप्रधानमन्त्रीले ६४ जनासम्म सुरक्षाकर्मी लिइरहेको पाइएको छ।
व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिले गरेको अध्ययनले पूर्वपदाधिकारीको सुरक्षामै राज्यको ठूलो जनशक्ति खर्च भइरहेको देखाएको हो । पूर्वपदाधिकारीले ज्यान असुरक्षाको कारण देखाउँदै मनपरी सुरक्षाकर्मी लिइरहेको प्रतिवेदनले औंल्याएको छ ।

पूर्वपदाधिकारीलाई कति सुरक्षाकर्मी दिने भन्नेबारे अहिलेसम्म कानुन बनाइएको छैन । मन्त्रिपरिषद निर्णय, मन्त्रालयगत निर्णय र परम्पराका आधारमा राज्यले व्यक्ति हेरेर सेवासुविधा, सुरक्षाकर्मी उपलब्ध गराउँदै आएको छ ।

यस विषयमा पटके निर्णय उचित नभएको भन्दै सर्वोच्च अदालतले ऐन बनाएर सेवासुविधा उपलब्ध गराउन आदेश दिइसके पनि पालना भएको छैन ।

मनपरी सुरक्षाकर्मी दिँदा राज्यलाई अनावश्यक भार परेको ठह¥याउँदै समितिले छुट्टै उपसमिति गठन गरी अध्ययन सुरु गरेको हो ।

सबैभन्दा धेरै सुरक्षाकर्मी लिनेमा पूर्वप्रधानमन्त्री तथा नेकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पहिलो नम्बरमा छन् । उनीसँग २३ प्रहरी र ४१ सशस्त्र गरी ६४ सुरक्षाकर्मी छन् ।

धेरै सुरक्षाकर्मी लिने सूचीको दोस्रो नम्बरमा पूर्वप्रम बाबुराम भट्टराई छन् । उनले २२ प्रहरी र १३ सशस्त्र गरी ३४ जना सुरक्षाकर्मी राखेका छन् । त्यसै गरी पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, लोकेन्द्रबहादुर चन्द २ प्रहरी र १३ सशस्त्र गरी १५ जना दरले सुरक्षाकर्मी लिइरहेका छन् ।

त्यसै गरी पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईका नाममा स्थापित प्रतिष्ठानका लागि ९ जना सशस्त्र प्रहरी खटिइरहेका छन् । पूर्व सरकार प्रमुखमध्ये मन्त्रिपरिषद् पूर्व अध्यक्ष खिलराज रेग्मी सबैभन्दा कम सुरक्षाकर्मी लिनेमा पर्छन् । उनीसँग दुई प्रहरी र ८ सशस्त्र गरी १० सुरक्षाकर्मी छन् । पूर्वराष्ट्रपति रामवरण यादव र पूर्वउपराष्ट्रपति परमानन्द झाले भने दुई–दुई जना प्रहरी मात्र राखेका छन् ।

त्यसै गरी चालक, गाडी मर्मत, पेट्रोलियम पदार्थ, घरभाडा, सुरक्षाकर्मी, बिजुली, पानीको महसुल गरी एकजना पूर्वप्रधानमन्त्रीकै लागि मासिक कम्तीमा ४ लाख रुपैयाँ राज्यले बेहोरिरहनुपरेकोे उपसमितिको अध्ययनले देखाएको छ । सांसद जनकराज जोशीको संयोजकत्वमा ‘पूर्वपदाधिकारीको सेवासुविधा सम्बन्धमा अध्ययन, सिफारिस तथा कार्यान्वयन अनुगमन गर्न’ ९ सदस्यीय उपसमिति बनाइएको थियो ।

पूर्वप्रधानमन्त्री मात्र नभई पूर्वमन्त्री, पूर्वआइजिपी, पूर्वएआइजी, पूर्वडिआइजी, पूर्वएसएसपी, सेनाका पूर्वपदाधिकारीलाई समेत आवश्यकता निक्र्योल नगरी मनलागी सुरक्षाकर्मी तथा सेवासुविधा उपलब्ध गराइएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमाथि छलफल गर्दै सांसदहरूले कानुन नहुँदा राज्यलाई भार पर्ने गरी सेवासुविधा वितरण भइरहेको टिप्पणी गरे । उनीहरूले तुरुन्तै कानुन बनाएर पूर्वप्रधानमन्त्रीलाई आवश्यक सुरक्षाकर्मी र सुविधा निक्र्योल गर्नुपर्नेमा जोड दिएका छन् ।

उपसमिति संयोजक जोशीले आजका विशिष्ट व्यक्ति भोलिका पूर्वपदाधिकारी हुने भएकाले अहिलेदेखि नै कानुन बनाएर अघि बढ्नुपर्ने बताए । उनले पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई सुराही र छाता मात्र लिएर प्रधानमन्त्री निवासबाट बाहिरिएको उदाहरण पेस गरे ।

सांसद अकवाल अहमद साहले पदाधिकारीमा पदमा आसीन हुँदा लिएको सेवासुविधा रिटायर्ड हुँदासमेत नछाड्ने बानी परेको टिप्पणी गरे । ‘अब सम्पूर्ण सेवासुविधाबारे जनतालाई थाहा हुनुपर्छ,’ उनले भने ।

सांसद कृपासुर शेर्पाले पूर्वपदाधिकारीको सुरक्षा र सेवासुविधामा राज्यले गर्ने खर्च कहालीलाग्दो रहेको बताए । उनले आफू मन्त्री हुँदा राज्यले १५ जना सुरक्षाकर्मी दिएकाले घर हुँदाहुँदै पनि क्वार्टरमा बस्नुपरेको सुनाए । उनले भने, ‘जननिर्वाचित प्रतिनिधिलाई केको खतरा हुन्छ ? पूर्वप्रम, उपप्रमलाई दुई जनाका दरले सुरक्षाकर्मी दिए पुग्छ, राज्यकोष दुरुपयोग गर्न हुँदैन ।’

सांसद नरसिंह चौधरीले जनतालाई मर्का नपर्ने गरी सुरक्षाकर्मी लिन आग्रह गरे । अर्का सांसद नगेन्द्र कुमालले पूर्वपदाधिकारीका नाममा भएको खर्च हेर्दा गरिबीको रेखामुनि रहेको देशमा ब्रह्मलुटको अवस्था देखिएको टिप्पणी गरे । सांसद उदय नेपाली श्रेष्ठले सुरक्षा आवश्यकताभन्दा फेसनको रूपमा आएको भन्दै चिन्ता दर्साए ।

सुशासन तथा अनुगमन समिति सभापति मोहनसिंह राठौरले पूर्वपदाधिकारीको सुरक्षा र सेवासुविधाका नाममा राष्ट्रिय स्रोतसाधन दुरुपयोग भएको जनाउँदै सर्वोच्चको आदेश पालना गरी अतिरिक्त व्ययभार घटाउनतर्फ लाग्नुपर्ने बताए । ‘अब सेवासुविधाको विषय स्पष्ट पार्न विधेयक बनाउन पहल गर्छौं,’ उनले भने ।

– See more at: http://nagariknews.com/main-story/story/74077.html#sthash.4zWHcERU.dpuf