(बाँसखर्क) सिन्धुपाल्चोक। वरिपरि त्रिपालले वारेर जस्ताले छाएको सानो अस्थाई घरमा पसल छ । घर वरिपरि वारवेर पारी आलु, वन्दा र सीमि लगाएका छन् । घर सँगै जोडेर कुखुराको खोर वनाईएको छ । भुईँचालोले आफ्नो गाँउमा पहिरोको जोखिम वढेपछि सुरक्षित स्थान खोज्दै सेलाङ स्थित वाँसखर्कमा वसोवास गर्दै आएकी गोल्चे, लिदीकीमाया दोङको जीविकोपार्जनको पद्धती हो यो ।

उनी यहि सानो टहरामा परिवारको मात्र हैन पाहुँनालाई समेत खाने बस्ने व्यवस्था मिलाउँछिन् । भनिन ‘हाम्रो गाँउ हेर्न आउनेहरुलाई खाना र वासको व्यवस्था गर्ने गरेका छौँ ।’ थपिन ‘भुकम्प पछि यति लामो समय डरैडरमा त्यसै बस्यौँ, जसोतसो वाँच्नै पर्‍यो, त्यसैले पसल चलाएकी छु र तरकारी पनि रोपेकी छु ।’ एक वर्ष यो वस्तीमा तरकारी नपाकेको तीतो यथार्थ सुनाउँदै उनले भनिन्, ‘पहिरोको वाटो काटेर थातथलो जान सक्ने अवस्था रहेन, राहतमा आएका दाल चामल पुर्‍याएर खायौँ, अव त निर्वाहको बाटो खोज्नैपर्‍यो ।’

मायाका तीन सन्तान माध्यमिक तहमा अध्ययन गर्छन् । विस्थापित वस्तीमा विद्यालय नभएपछि उनले राजधानीमा पढ्न पठाएकी छन् । सन्तान पढाउन र घर चलाउन सानो पसल र तरकारी व्यवसाय मुस्किल वनेको छ । भुकम्प लगत्तै सुरक्षित स्थानको खोजीमा आएकी सीता सिलवालले पनि अस्थाई टहरो वरिपरि हराभरा वनाएकी छिन् । उनिँउ घारी फाँडेर उनले वन्दा, गोलभेँडा, सीमि, खुर्सानीलगायत तरकारी वाली लगाएकी छिन् । ‘किनेर खाने समेत ठाँउ छैन, कति दिन सरकारको मुख ताक्नु ?’

राम्रै उत्पादन भयो भने सदरमुकाम लगेर वेच्ने उनको योजना छ । विस्थापितहरु अव यही वस्ती वसाउने सुरमा छन् । आफ्नो गुजाराको लागि विभिन्न तरिकाले स्थापित हुन चाहन्छन् । आफू वस्ने अस्थाई घर वरपर आलु, मकैलगायत विभिन्न अन्न वाली समेत लगाएका छन् । ‘भीरै/भीर, पहिरै/ पहिरो छ, गाँउ जान सकिँदैन,’ नाम्फावाट आएकी नेमा लामा भन्छिन्, ‘अव यतै उनिँउ घारी फाँड्नु पर्ला ।’ उनी विकल्पको वाटो खोज्दैछिन् । सेलाङ, गोल्चे, गुम्वालगायतका ठाँउवाट आएका केही विस्थापित परिवारका महिलाहरु त व्यवसायिक विकल्प खोज्न थालेका छन् । तर कतिपय परिवारका महिलाहरुलाई भने निर्वाह गर्न धेरै समस्या छ । यो ठाउँमा १ सय ९२ विस्थापित घरपरिवार अस्थायी बसोबास गरिरहेका छन् ।

स्रोत महिला खबर