ऐजेन्सी । सिरियाको भूमध्यसागरको तटस्थित सरकारी पकडमा रहेका दुई वटा शहरमा श्रृंखलाबद्ध कारबम र आत्मघाती आक्रमण भएका छन्।

सरकारी संचार माध्यमले कम्तीमा ७८ जना मारिएको बताएको छ भने एउटा पर्यवेक्षक समूहले १२० जना भन्दा धेरै मारिएको बताएको छ।

बन्दरगाह शहर तार्तुस र उत्तरी शहर जाब्लमा ४ वटा बम विस्फोट भएका थिए।

जिम्मा

इस्लामिक स्टेट (आइएस) समूहसंग सम्बद्ध एउटा संचार माध्यमले उक्त आक्रमणको जिम्मा आइएसले लिएको जनाएको छ।

अमाकले आइएसको एक श्रोतलाई उद्धृत गर्दै उनीहरुले अलावीहरुको भेलालाई निशाना बनाएको बतायो।

राष्ट्रपति बशर अल असद शिया सम्प्रदाय अन्तर्गतको अलावी समूहका हुन्।

राष्ट्रपति असदको महत्वपूर्ण समर्थक रुसको तार्तुस शहरमा नौसेनाको अड्डा र जाब्लमा हवाई अड्डा रहेको छ।

रुसले जाब्लबाट सिरियाभर आइएसविरुद्ध हवाइ आक्रमण गर्ने गरेको छ।

निशाना

सिरियाका सूचनामन्त्री ओमरान अल जूबीले आतंकवादी समूहहरुले सिरियाली सेनाको सामना गर्न नसक्ने हुँदा उनीहरुले सर्वसाधारणलाई निशाना बनाएको बताएका छन्।

उनले अल इख्बारिया टेलिभिजनलाई आफु पछि नहट्ने र आतंकवादीहरुको सामना गर्न आफुसंग भएको सबै हतियार प्रयोग गर्ने बताएका छन्।

रुसले उक्त हमला भएकोमा चिन्ता व्यक्त गर्दै सरकार र विपक्षी समूहबीच शान्तिवार्ता जारी राख्नुपर्ने आवश्यकता औंल्याएको छ।

राष्ट्रपति असदलाई सत्ताबाट हटाउने प्रयासमा सरकारी र विद्रोही लडाकु दुवैसंग लडिरहेको आईएसले यो वर्ष दमस्कस र होम्समा आत्मघाती हमला गरेर दर्जनौंलाई मारिसकेको छ।