एकता पछि बसेको नेकपा माओवादी केन्द्रको पहिलो बैठकले पार्टीको नेतृत्वलाई बहु-पदीय बनाउने भएको छ।

आइतबार अनमोल पार्टी प्यालेसमा बसेको केन्द्रीय समितिको बैठकमा ब्रिफिङ गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई बहुपदीय बनाउने कुरा बताएका हुन्।

माओवादीका विभिन्न समूह मिलेर गठन भएको नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिमा ६ सय ९९ जना सदस्य छन्। केन्द्रीय समितिको पहिलो दिनको बैठक २ घण्टा बसेर स्थगित भएको छ। निर्धारित समयभन्दा दुई घण्टा ढिला सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले जेठ महिनाभरि देशका सबै जिल्लामा एकता सम्मेलन गर्न र जेठको अन्तिममा काठमाडौमा शक्ति प्रदर्शन गर्न प्रस्ताव गरेका छन्।

पार्टी नेताका अनुसार माथिल्लो निकायमा बहुपद कसरी बाँडफाँड गर्ने भन्ने बारे एकतामा आएका विभिन्न समूहबीच आज बेलुकी र भोलि बिहान छलफल हुनेछ।

पार्टी नेता नारायणकाजी श्रेष्ठ र राम बहादुर थापा ‘बादल’ बरिष्ठ नेता बन्ने सम्भावना बढेको छ भने महासचिव वर्षमान पुन बन्ने भन्ने बारे चर्चा भएको छ। तर बादलसँग पुनको सम्वन्ध राम्रो छैन। त्यसैकारण बादलले उक्त प्रस्तवा स्वीकार्नुपर्ने छ। उता देव गुरूङ, कृष्ण बहादुर महरा र मात्रिका यादव उपाध्यक्ष र टोपबहादुर रायामाझी सचिव बन्ने चर्चा चलेको छ।

पार्टीले आगामी २९ गते व्यापक जन-प्रदर्शन गर्ने भएको छ। तर कुन नाराका लागि प्रदर्शन भन्ने बारे भोलि मात्र केन्द्रीय सदस्यलाई जानकारी हुनेछ।

स्मरणीय छ बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिले ३० गते पार्टी घोषणा गर्दै छ।