सवारीसाधन खरिदपछि यसको स्वरुप बिगारेर प्रयोग गर्नेलाई कडा कारबाही हुने भएको छ। साथै स्वरुप परिर्वतन गराउने र गर्न प्रोत्साहन गर्नेलाई समेत कारबाही हुने भएको छ।
अटो निर्माता कम्पनीले सवारी साधन बनाउँदै आउने ‘जेन्यून’ आवाजभन्दा चर्को बनाई सवारी चलाउनेलाई कडा कारबाही गर्ने तयारी गरेको यातायात व्यवस्था विभागले जनाएको छ। विभागले जनमानसमा खलबल पुर्‍याउने गरी स्वरुप परिवर्तन गर्दै सवारी प्रयोग गर्नेलाई ५ हजार रुपैयाँ जरिवाना लगाउने भएको छ।
विभागले गरेको अनुगमनको समयमा र ट्राफिक प्रहरीले गर्ने चेकजाँचको समयमा फेला परेर सिफारिस भएर आउने सबै सवारीसाधनलाई जरिवाना लाग्ने समेत विभागले जनाएको छ। जरिवानापछि पनि सवारीसाधनको ध्वनी पहिलेकै अवस्थामा आउने गरी बनाएर मात्र प्रयोग गर्न दिइने भएको छ।
विभागकाअनुसार अहिले पनि ट्राफिक प्रहरीले दैनिक जसो स्वरुप परिवर्तन गरी सवारी प्रयोग गर्ने १२ जनाको हाराहारीमा कारबाही गर्न विभागमा सिफारिस गरिरहेको छ।ट्राफिक प्रहरीबाट कारबाहीको लागि  सिफारिस  भएर आउने सवारी साधनको प्रकृति हेरेर १ हजारदेखि ५ हजार रुपैयाँसम्म जरिवाना गराउने गरेको विभागले जनाएको छ।