मुग्लिङ–नारायणगढ खण्डको ३६ किलोमिटर क्षेत्रमा ठाउँठाउँमा पहिरो गएको थियो। पहिरो गएको ठाउँ ठ्याक्कै यकिन गर्न नसके पनि दिनहुँजसो पहिरो जाँदो रहेछ भन्ने उनले थाहा पाए। ‘कतैकतै त एक–एक वटा गरेर गाडी पास गराउनुपर्दा धेरै समय लाग्दो रहेछ,’ पोखरेलले भने।

 मुग्लिङ–नारायणगढ सडकमा यात्रा गर्ने सबैले अचेल यस्तै समस्या भोगिरहेका छन्। केहीबेर पानी मात्र परे पनि मुग्लिङ–नारायणगढ सडकको ठाउँ–ठाउँमा पहिरो जान्छ। मनसुने झरीको मुखमा भइरहेको निर्माण कार्यले आगामी दिनमा पहिरोको झन् कति विकराल समस्या ल्याउला भन्नेमा यात्रु तथा प्राविधिकहरू चिन्तित छन्।
विश्व बैंकको सहयोगमा एसियाली सडकको स्तरमा स्तरोन्नति हुँदै गरेको यो सडक दुई लेनको बन्ने अवस्थामा छ। भूगर्भविदका अनुसार सडकको भौगोलिक बनावट नै पहिरो गइरहने किसिमको छ, त्यसमाथि सडक खन्दा संवेदनशीलता ख्याल गरिएको छैन। मुलुकलाई काठमाडौंसँग जोड्ने यो सडक चौडा पार्नु नराम्रो नभए पनि सडक खन्ने तरिकामा विचार नपुर्याउँदा यस्तो समस्या आएको उनीहरू बताउँछन्।
‘यो खण्डमा जतिबेला पहिरो जानसक्छ,’ भूगर्भविद डा. रञ्जनकुमार दाहालले सेतोपाटीसँग भने, ‘सामान्य पानी पर्दा नि पहिरो गएर घन्टौं सडक अवरुद्ध हुन्छ, खन्ने तरिका ठीक नभएर यस्तो भएको हो।’
दाहालका अनुसार यो सडकको ७० प्रतिशत भू–भाग पहिरोग्रस्त छ। बीचको सात किलोमिटर क्षेत्र बालुवाको थुप्रोमा छ। अहिले जसरी यो भू–भाग कोट्याइयो त्यसले बर्खा बेला राजधानीसँग देशको यातायात सम्पर्क टुट्ने खतरा रहेको दाहाल दाबी गर्छन्। ‘सरकारले परम्परागत भौगर्भिक अध्ययनमा आधारित भएर यो बाटो खन्यो, अहिले निम्तिरहेको समस्या त्यसैको परिणति हो,’ उनले भने।
मुग्लिङ–नारायणगढ सुधार योजना प्रमुख चन्द्रनारायण यादवका अनुसार यो सडक पुनर्निर्माण गत वर्ष वैशाखदेखि सुरु भएको हो। दुई वर्षमा सक्ने भनिए पनि भुइँचालो र नाकाबन्दीले ढिला भएको उनले बताए। ‘भूकम्प आयो, नाकाबन्दी भयो, गएको साउन महिनादेखि हामीले काम सुरू गरेका हौं,’ यादवले भने, ‘बीस प्रतिशत काम सकिएको छ।’
यादवका अनुसार यो बाटो अब सात मिटर कालोपत्रेसहित एघार मिटर चौडा हुनेछ। उनका अनुसार बाटो खन्ने क्रममा सानो–सानो पहिरो गइरहेकै छ। ‘नयाँ कटिङ भएकाले अलिअलि पहिरो जान्छ। पानी बढी परेपछि माथिबाट बग्छ,’ उनले भने, ‘कहिले राति पहिरो जान्छ, त्यस्तो बेला तुरुन्तै हटाउन सकिँदैन। बाटो अवरुद्ध हुनुको कारण यही हो।’ भनेको बेला सबै सामग्री र जनशक्ति नहुनुले पनि पहिरो हटाउन समय लाग्ने गरेको उनले बताए।
सडक विभागका महानिर्देशक माधव कार्की वैशाख १२ को भुइँचालोपछि यहाँ पहिरो जाने क्रम बढेको बताउँछन्। अहिले पहिरोका कारण दिनहुँ केही घन्टा सडक अवरुद्ध हुन्छ। ‘कन्ट्रोल गर्दा हुने हैन, सकिने हैन, छिटोभन्दा छिटो हटाउने प्रयास गर्ने हो,’ उनले भने।
बाटो खन्नकै लागि दिउँसो ११ देखि ४ बजेसम्म सडक बन्द नै गरिँदै आएको छ। त्यसमाथि पहिरोबाट हुने जोखिम बेग्लै छ। जतिबेला पनि जान सक्ने हुँदा सवारीसाधन जुनबेला पनि पहिरोमा पर्न सक्छन्।
तर, मुग्लिङ–नारायणगढ पहिरो सडक विभागले भनेजस्तो मात्र हैन। यहाँको भौगर्भिक अवस्थाबारे थाहा भएर पनि सरकारले चासो नदेखाएको भूगर्भविदहरूको छ।
समस्या के त?
दाहालका अनुसार मुग्लिङ–नारायणगढ सडक संवेदनशील भौगर्भिक धरातलमा छ। सडकको ७० प्रतिशत क्षेत्र खतरनाक भीमकाय पहिरोको फेदमा रहेको उनी बताउँछन्। ‘नेपालमा भीमकाय पहिरोको अध्ययन अति नै कम मात्रामा भइरहेको छ,’ दाहालले भने, ‘धेरै प्राविधिकलाई यसबारे पर्याप्त ज्ञान छैन।’
के हो भीमकाय पहिरो?
भीमकाय पहिरो भनेको पुरानो पहिरो विस्तारै बगिरहेको अवस्था हो। ठाउँअनुसार यो सुसुप्त अवस्थामा हुन्छ। दाहालका अनुसार सडक निर्माण ख्याल नगरे अकस्मात बगेर तल आउँछ, अहिले भइरहेको त्यही हो। ‘यस्तो पहिरोले गर्दा कहिलेकाहीँ नदी नै थुन्ने गरी विपद निम्तिन्छ,’ दाहालले भने।
मुग्लिङ–नारायगढ सडक फराकिलो पार्ने क्रममा थालिएको कामको प्रारभ्भ नै त्रुटिपूर्ण रहेको दाहालको दाबी छ। बाटो खन्नुअघि भू–इन्जिनियरिङको अध्ययन अत्यन्तै कम भएको उनी बताउँछन्। उनका अनुसार भीमकाय पहिरो भएको ठाउँमा भू–इन्जिनियरिङको अध्ययन गर्दा परम्परागत भौगर्भिक अध्ययनले पुग्दैन। भीमकाय पहिरोमा चट्टान सग्लो नै भेटिन्छन् र माटो पनि त्यत्तिकै हुन्छ। सग्लो चट्टान देखेर प्राविधिक झुक्किन सक्छन्। राम्रो भौगर्भिक संरचना तथा कडा चट्टान भएको ठाउँ भनेर त्यसैअनुसार भिरालो भागको व्यवस्थापन गर्ने डिजाइन तयार गरिछ।
‘जब सडकको लागि भित्ता कटान गर्न थालिन्छ, भीमकाय पहिरोको भित्री भागमा रहेको र माथिल्लो भागमा रहेको धुजाधुजा परेका चट्टानले समस्या निम्त्याउन थाल्छ,’ दाहालले भने, ‘मुग्लिङ–नारायणगढ सडकमा गइरहेको पहिरो त्यस्तै हो।’
उनका अनुसार मुग्ल्लिङ खण्डमा पहिले पहाड ताछेर मात्र सडक बनाइएको थियो। ‘अहिले पहाड काटेर बनाइँदै छ,’ उनले भने, ‘पहाड काटेर बनाउँदा राम्रो अवस्थामा रहेको चट्टानमा समस्या आउँदैन तर पुरानो भीमकाय पहिरोको फेद काटेर बनाउँदा माथिको भाग सलल बग्छ।’
अहिले सडक बनाउँदा भीमकाय पहिरोको अवस्थितिलाई ध्यान दिन नसिकएको उनको दाबी छ। यो स्थितिले अब हुने वर्षामा डरलाग्दो परिस्थिति अउनसक्ने चेतावनी उनले दिए।
‘काठमाडौंलाई देशको अरू भागसँग जोड्ने प्रमुख सडक हो त्यो, त्यहाँ हुने कुनै पनि घटनाले देशकै अर्थ–व्यवस्थामा असर पर्छ,’ उनले भने, ‘संवेदनशील क्षेत्र पहिचान गरी  डोजरसहितको टिमलाई तयारी अवस्थामा राख्नपर्ने देखिन्छ।’ भीमकाय पहिरोको फेदमा रहेको जमिनमा पानीको निकास गर्नुपर्ने उनको भनाइ छ। पानीको सही व्यवस्थापन हुन नसके बर्खामा हुने भेल र पहिरोले मुलुकको अन्य भागसँग काठमाडौंको यातायात सम्पर्क टुट्ने दाहालको दाबी छ।
सडक विभागका महानिर्देशक कार्की भने अहिलेको पहिरोलाई सामान्य मान्छन्। उनले उक्त सडकमा ‘भीमकाय–सीमकाय’ पहिरो नरहेको दाबी गरे। हाल विकसित भौगर्भिक अवस्थाबारे नबुझी परम्परागत तरिकाबाट सडक खनिएको भूगर्भविदको तर्कबारे उनले भने, ‘त्यस्तो केही हैन, भीमकाय पहिरो छ भन्ने भूगर्भविदलाई मलाई भेट्न पठाइदिनुस्।’