काठमाडौँ, २३ वैशाख । भोलि शुक्रबार फरक धारका तीन चलचित्र एकैसाथ प्रदर्शनमा आउँदैछन् ।
प्रदर्शन हुने चलचित्रमा ‘उहिले बाजेको पालामा’, ‘रोल्पा रोग’ र ‘आवारा’ छन् । गणेश बेल्बासेको लेखन तथा वसन्त घर्ती मगरको निर्देशनमा बनेको चलचित्र ‘उहिले बाजेको पालामा’ले पुरानो नेपाली मौलिक संस्कृति झल्काउने कथा बोकेको छ । यसमा रुढीवादी संस्कृति र प्रेम प्रशङ्गलाई फरक ढङ्गले देखाइएको लेखक बेल्बासेको भनाइ छ । सुनिल मानन्धर कार्यकारी निर्माता रहेको यस चलचित्रमा लेखक बेल्बासेसहित दिलीप रायमाझी, नवीन श्रेष्ठ, खुश्बु खड्का, सपना रोक्का लगायतका कलाकारको अभिनय रहेको छ ।
त्यस्तै, ‘रोल्पा रोग’ ग्रामीण क्षेत्रका युवाले माओवादी सशस्त्र द्वन्द्वका समयमा पाएको दुःखलाई समेटेर निर्माण गरिएको चलचित्र हो । दीपक वलीले निर्देशन गरेको चलचित्रको प्रस्तुतकर्ता निर्मला वली हुनुहुन्छ भने निर्माता थमबहादुर वली हुनुहुन्छ । चलचित्रमा शिशिर भण्डारी, कुलदीप अधिकारी, बिनु खड्का, जनक थापालगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।
त्यसैगरी, ‘आवारा’ सज्जन मानिसलाई समाजले आवारा बन्न बाध्य पारेको कथा बोकेको चलचित्र हो । दिनेश पौडेलले निर्देशन गरेको यस चलचित्रमा राजेश ढुङ्गाना, सिर्जना ढकाल, राजेन्द्र बस्नेत, रवीन लामालगायतका कलाकारको अभिनय छ । यसको निर्माण झलक लामा र उग्रसेन ढुङ्गानाले गर्नुभएको हो ।
प्रदर्शन हुने तीनवटै चलचित्र फरक कथा र शैली बोकेका हुनाले एकले अर्कालाई असर नगर्ने तथा बराबर व्यापार गर्न सक्ने दाबी वितरक करण श्रेष्ठको छ