पथरी (मोरङ), २३ वैशाख । विराटनगरमा जारी विराट पुस्तक प्रदर्शनीअन्तर्गत बुधबार कवि चिन्तामणि सिवाकोटीको एकल कवितावाचन कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरसमेत रहनुभएका सिवाकोटी तीन दशकभन्दा लामो समयदेखि नेपाली साहित्यमा सक्रिय रुपमा कलम चलाउँदै आउनुभएको छ । घोस्ट राइटिङ नेपालको आयोजनामा जारी पुस्तक प्रदर्शनीअन्तर्गत सिवाकोटीको एकल कवितावाचन बुधबार सम्पन्न भएको हो ।

पुस्तक प्रदर्शनीस्थल, मारवाडी सेवा सदन, शनिहाटमा हरेक दिन काव्यवाचन, कृति विमोचन, नाटक मञ्चन लगायतका कार्यक्रमसमेत हुने गरेका छन् । सिवाकोटीले सो अवसरमा नयाँ–पुराना एक दर्जनभन्दा बढी कवितावाचन गर्नुभएको थियो ।

यस्तै, राधिका गुरागाईं, ज्योति जङ्गल, गोकुल अधिकारी, शुभलक्ष्मी लम्साल, भुवन ढकाल, इन्दु अंशु लगायतका कविले कवितावाचन गरेर सिवाकोटीलाई सघाउनुभएको थियो । सोही अवसरमा सिवाकोटीको ‘छविलाल, तिमी घर फर्क’ शीर्षकको कवितामाथि अभिनयसमेत गरिएको थियो । कवि भरत गुरागाईंले वाचन गरेको कवितामा झोराहाट नाट्य समूहका कलाकार सुदीप कार्कीले अभिनय गर्नुभएको थियो ।

यसैबीच, प्रदर्शनीमा पुस्तक खरिद गर्न आउने पाठकको अत्यधिक चाप बढेको छ । सोमबारदेखि सुरु भएको प्रदर्शनी वैशाख ३० गतेसम्म सञ्चालन हुनेछ । १३० भन्दा बढी प्रकाशनगृहका साहित्यिक, सांस्कृतिक, धार्मिक, आर्थिक, पर्यटनसम्बन्धी पुस्तक प्रदर्शनीमा राखिएको घोस्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकालले जानकारी दिनुभयो ।