हेटौँडा, २२ वैशाख । उपप्रधानमन्त्री तथा राप्रपा (नेपाल) का अध्यक्ष कमल थापाले वर्तमान सरकारको विकल्प खोज्नुअघि एनेकपा (माओवादी) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पुनः विचार गर्नुपर्ने बताउनुभएको छ ।
मिडिया नेपाल मकवानपुरले आज हेटौँडामा आयोजना गरेको पत्रकारसम्मेलनमा बोल्दै अध्यक्ष थापाले भन्नुभयो, ‘‘सरकार परिवर्तन गर्दा राष्ट्रियता कमजोर हुने, राजनीतिक अस्थिरता बढ्दै जाने तथा संविधान कार्यान्वयन कठिन र जटिल हुँदै जाने भएकाले यसमा पुनः विचार गर्न आग्रह गर्दछु ।’’
अध्यक्ष थापाले वैशाख १२ गतेको भूकम्प, असोज ३ गतेको संविधान जारीपछि मधेस आन्दोलन, भारतद्वारा अघोषित नाकाबन्दीजस्ता विषम परिस्थितिमा पुनःनिर्माण गर्नुपर्ने दायित्वका बीच राष्ट्रियताको जगमा अडेको वर्तमान सरकारले आर्थिक विकास र पुनःनिर्माणको काम अघि बढाउने अवस्थामा प्रचण्डले आफ्नो दल सहभागी भएको सरकारले ठोस काम गर्न नसकेको र सरकारको विकल्प खोज्नुपर्ने वक्तव्य निकाल्नु अप्रत्याशित र अनपेक्षित रहेको बताउनुभयो ।
उहाँले एक प्रश्नको उत्तरमा वर्तमान सरकार गठन गर्नुअघि जुन बहिरी शक्तिको चलखेलले अवरोध पु¥याएको थियो, त्यही शक्तिले हाल पुनः चलखेल गरेको आरोप लगाउनुभयो ।
अध्यक्ष थापाले वर्तमान सरकारको ६ महिने कार्यकालमा भएका काम कारबाहीको जश अपजशको भागी हामी सबै हौँ भन्दै देशलाई अस्थिरताबाट जोगाई राष्ट्रिय एकता बलियो बनाएर संविधान कार्यान्वयन र आर्थिक उन्नतितर्फ हामी सबै लाग्नुपर्ने स्पष्ट पार्नुभयो ।
उहाँले राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समितिको आज बस्ने बैठकले वर्तमान परिस्थितिको समीक्षा गरी पार्टीको धारणा सार्वजनिक गर्ने जानकारी दिनुभयो । रासस