काठमाडौँ, २२ वैशाख । देशभरिका मानिसलाई नेपालको राष्ट्रिय झन्डा चिनाउने अभियानका साथ लक्ष्मीनारायण शिल्पकार ७५ जिल्लाको भ्रमण पूरा गरेर राजधानी फर्कनुभएको छ ।

काठमाडौँ कालीमाटीस्थित भीमेश्वर निवासी ६१ वर्षीय शिल्पकारले करिब पाँच महिना लगाएर राष्ट्रिय झन्डाको प्रचारप्रसार गर्दै ७५ जिल्ला भ्रमण गरेर फर्कनुभएको हो ।

उहाँले राष्ट्रिय झन्डा देशभरिका मानिसलाई चिनाउने अभियानस्वरुप मङ्सिर १ गतेबाट सुरु गरेर यही वैशाख ११ गते सकाउनुभएको हो ।

उहाँले नेपाली राष्ट्रिय झन्डा देशभरिका मानिसलाई चिनाउनका लागि देशव्यापी भ्रमण गरेको बताउनुभयो । उहाँ राष्ट्रिय झन्डा बोक्दै सहर र गाउँ पुगेको बताउनुभयो ।

भ्रमणका क्रममा शिल्पकारले अझै पनि केही मानिसले नेपाली झन्डा नचिनेको बताउनुभयो । “म झन्डा चिनाउन ७५ जिल्लामा पुगेँ”, उहाँले भन्नुभयो–“अझै केही नेपालीले राष्ट्रिय झन्डा चिनेका रहेनछन् ।”

शिल्पकार नेपाली झन्डा बोक्दै प्रत्येक जिल्लाको सदरमुकाम पुग्नुभएको थियो । उहाँ २०६३ साल चैतदेखि राष्ट्रिय झन्डा बोकी नेपालीलाई चिनाउँदै हिँड्ने गर्नुभएको छ ।