काठमाडौं। कक्षा १२ को परीक्षा सोमबारदेखि सुरु भएको छ । उच्च माध्यामिक शिक्षा परिषद् सानोठिमीका अनुसार बिहान ७ बजदेखि परीक्षा सुरु भएको हो ।

देशभर नौ सय २१ परीक्षा केन्द्र तोकिएको छ । वैशाख ३१ गतेसम्म सञ्चालन हुने परीक्षामा ८२ वटा विषयको परीक्षा हुनेछ । परीक्षामा तीन लाख ४६ हजार चार सय २७ जना परीक्षार्थी सहभागि हुने परिषद्का परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिनुभयो ।

परीक्षामा विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्ति, कारागार र बालसुधार गृहमा रहेका परीक्षार्थीलाई पनि परीक्षा दिने व्यवस्था गरिएको छ । परीक्षा सञ्चालन अवधीभर परीक्षा समन्वय समिति, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, पर्यवेक्षक र परिषद्बाट खटिएका जिम्मेवार व्यक्ति बाहेकका अरुलाई परीक्षा केन्द्रमा मोवाईल फोन लैजान पूर्ण रुपमा निषेध गरिएको छ ।