पाल्पा। उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले

सातवटै प्रदेशमा औद्योगिक क्षेत्र स्थापनाका लागि सरकारले तयारी गरेको बताएका छन् ।नयाँ संविधानले कोरेको बाटोअनुसार सातवटै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्न एक हजार बिघा जमिनको व्यवस्थान गर्ने कार्य भइरहेको उनले बताए ।

उद्योग मन्त्रालयले आइतबार तानसेनमा आयोजना गरेको औद्योगिक समस्या र समाधान विषयक अन्तरक्रियामा मन्त्री पाण्डेयले पुराना उद्योगको व्यवस्थापन गर्दै सङ्घीय संरचनाअनुसार औद्योगिक क्षेत्रको विस्तार गरिने जानकारी दिए ।

वि.सं २०६४ पछि स्वदेशमा औद्योगिक क्षेत्रको स्थापना हुन नसकेको बताउँदै मन्त्री पाण्डेयले नयाँ औद्योगिक क्षेत्र विस्तारका लागि आउँदो बजेटमा सम्बोधन गर्ने आश्वासन दिनुभयो । नेपाल सिमेन्टमा आत्मनिर्भर रहेको बताउँदै उहाँले फलाम र तामा खानी सञ्चालनमा ल्याएपछि त्यसमा समेत देश आत्मनिर्भर हुने जिकिर गरे ।

उद्योग मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरेले विपन्न तथा कमजोर वर्गलाई आर्थिक क्षेत्रमा समावेश गर्न मन्त्रालयले उत्थानको कार्यक्रम तय गरेको जानकारी दिए । अप्रशोधित खनिज पदार्थ निर्यातमा भन्दा खनिज पदार्थलाई स्वदेशमै प्रशोधन गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्न कार्यक्रम तय भएको उनको भनाइ छ ।

कार्यक्रममा पाल्पा उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु महर्जनले निजी क्षेत्रले लगानीको वातावरण खोजेकाले वातावरण सरकारले निर्माण गर्नुपर्नेमा जोड दिए ।