काठमाडौं। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापाले अमेरिका र बेलायतसहित विश्वभर नेपालको संविधानविरुद्ध संगठित रूपमा नकारात्मक भ्रम पार्न खोजिएको अनुभव सुनाएका छन् ।

साताव्यापी अमेरिका र बेलायतको भ्रमणपछि शुक्रबार स्वदेश फर्किएका थापाले भारतको नाम नलिई अन्तर्राष्ट्रिय रूपमा संविधानविरुद्ध भ्रम पारिएको टिप्पणी गरेका छन् । उनले बेलायत र अमेरिकामा संविधानबारे एउटै शैलीको नकारात्मक टिप्पणी सुनेको बताए । तर, भ्रमणको क्रममा आफूले त्यस्तो भ्रम चिरेको थापाले दाबी गरे ।

प्रधानमन्त्री नरेन्द्र मोदीको बेलायत भ्रमणका वेला जारी संयुक्त वक्तव्यमा नेपालको संविधान अधुरो रहेको उल्लेख थियो । यसैगरी प्रधानमन्त्री मोदी युरोपियन युनियनको हेडक्वार्टर ब्रसेल्स भ्रमणमा जाँदा पनि नेपालले मधेसीहरूका बाँकी समस्या समाधान गर्नुपर्ने व्यहोराको संयुक्त विज्ञप्ति आएको थियो । थापाले यी सन्दर्भ नदोहोर्‍याई संविधानबारे संगठित नकारात्मक टिप्पणी भएको आरोप लगाए ।