पर्सा।  वीरगन्ज भन्सार कार्यालयमा आज अपराह्न भएको आगलागीलाई समयमै नियन्त्रण गर्दा ठूलो क्षति हुनबाट कार्यालय जोगिएको छ।
कार्यालयको प्रवेश कक्षमा आज वेल्डिङबाट सल्केको आगोलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कर्मचारीले तत्कालै नियन्त्रणमा लिएपछि ठूलो नोक्सान हुनबाट जोगिएको हो।
भन्सार कार्यालयको गेटमा रहेको इन्ट्री कक्षमा वेल्डिङबाट कक्ष निर्माण भइरहेका बेला एक्कासि आगो सल्किएर आगलागी भएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख सेवन्तक पोखरेलले जानकारी दिए।
उनले आगलागीलाई चाँडै सशस्त्र प्रहरी र भन्सार कर्मचारीले नियन्त्रण गरेकाले ठूलो नोक्सान नभएको बताए। आगलागीमा परी इन्ट्री कक्ष र कक्षमा राखिएका दराज, कुर्सी, इन्ट्री रसिद जलेर नष्ट भएको भन्सार प्रमुख पोखरेलले जानकारी दिए।
भन्सारमा भएको आगलागीलाई नियन्त्रण गर्न वीरगन्ज उपमहानगरपालिकाको बारुणयन्त्र समेतलाई प्रयोग गरिएको भन्सारले जनाएको छ। एक वर्षअगाडि विद्युत्को तार सट भई आगलागी हुँदा करोडौँको मालसामान जलेर नष्ट भएको थियो।