काठमाडौं। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले काठमाडौं उपत्यकाका चार स्थानमा भूकम्प जानुभन्दा १० देखि २० सेकेन्ड अग्रिम सूचना दिने यन्त्र जडान गरेको छ ।

प्रतिष्ठान परिसर खुमलटार, त्रिवि भूगर्भ केन्द्रीय शिक्षण विभाग कीर्तिपुर, भृकुटी होटल गोदावरी र सौर्य स्कुल सिनामंगलमा अग्रिम सूचना दिने प्रणाली जडान गरिएको हो । सो प्रणाली जडान गरिएको ८० किमीको दूरीमा भूकम्प गए १० देखि २० सेकेन्डअगावै सूचना पाउन सकिन्छ ।

सो यन्त्रले भूकम्प जानुपूर्व भूकम्पको केन्द्रबिन्दुको दूरी र तीव्रताका आधारमा भूकम्पीय तरंग प्राप्त गरी मानिसलाई सचेत गराउने नास्टका प्रविधि प्रमुख डा। सुरेशकुमार ढुंगेलले जानकारी दिए ।

‘यो प्रविधि चार स्थानमा स्थापना गर्न चीनको इन्स्टिच्युट अफ केयर लाइफको सहयोगमा अनुदानस्वरूप प्राप्त भएको हो, अन्य स्थानमा राख्न सरकारले आर्थिक सहयोग गरे नास्टले देशका विभिन्न भागमा जडान गर्ने योजना बनाएको छ,’ उनले भने ।