पर्वत। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेताहरुले संविधानमा लेखिएको ‘धर्म निरपेक्ष’ वाक्यांसलाई करोडौं डलमा बिक्री गरेको आरोप लगाएका छन् ।

कार्यकर्ता भेटघाट तथा पार्टीका कार्यक्रमका सिलसिलामा पर्वत आएका कोइरालाले संवाददाताहरुसँग कुरा गर्दै धर्मको विषयमा ठूलो बहस आवश्यक रहेको बताएका हुन् । ‘संविधानको मस्यौदामाथिको छलफलमा ८७ प्रतिशत बढी जनताले धार्मिक स्वतन्त्रता हुनुपर्ने सुझाव पठाउनुभएको थियो,’ उनले भने, ‘त्यसैलाई लेखेर संविधान टुङ्ग्याउन मैले धेरैपटक जिकिर गरें, सकिन ।’

कसले कहाँबाट कति रकममा ‘धर्म निरपेक्ष’ बिक्री गर्‍यो भन्नेबारे खोज्ने बेला भएको कोइरालाले बताए । कृष्ण सिटौला र आफू लगायतका केही नेताहरुले ‘धर्म निरपेक्ष’को सट्टा ‘धार्मिक स्वतन्त्रता’ राख्न दबाब दिएको तर, असफल भएको उनको भनाई छ ।

कोइरालाले ओली सरकार आफ्नै कारणले ढल्ने संकेत देखिइसकेको आरोप लगाउँदै कांग्रेस सशक्त प्रतिपक्षको भूमिकामा बस्ने बताए ।