सिरहा।  संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले आन्दोलनकै बलको संविधान पुनर्लेखन हुने बताएका छन् ।
सिरहाको गोलबजारमा पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष यादवले सरकारलाई समस्या समाधानको लागि समय दिए पनि बेवास्ता गरेको भन्दै आन्दोलनबाटै छिनोफानो हुने जिकिर गरे ।
आफूहरु अझैपनि शान्तिपूर्ण आन्दोलनकै पक्षमा रहेको भन्दै उनले राज्यले बन्दुकले दबाउने कोशिश गरे उसको नामोनिसान मेटिने जिकिर गरे । ‘संसारभरी शान्तिपूर्ण आन्दोलन बन्दुकको बलमा समाप्त भएको छैन’, यादवले भने, ‘नेपालमा पनि नवौं आश्चर्य हुँदैन ।’
देशका दुइतिहाई जनतालाई पन्छाएर बनाएको संविधान मान्य नहुने यादवले बताए । ‘दुनियाँले संविधानमा मधेसी जनता नसमेटिएको भनिसकेको छ’, उनले भने, ‘त्यसैले पनि यो संविधानको पुनर्लेखनको विकल्प छैन ।’
संविधान पुनर्लेखन गर्न तराई, पहाड, हिमालका शोषित पीडित जनता एकजुट हुनुपर्ने यादवको जिकिर रहेको छ ।
कार्यक्रमममा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री शत्रुधनप्रसाद सिंह कोइरी, जिल्ला अध्यक्ष रामचलित्तर साह सहित दर्जनौ  बढीले संघिय समाजवादी फोरम प्रवेश गरेका छन् ।
प्रवेश कार्यक्रममा फोरमका कोषध्यक्ष विजय यादव, केन्द्रीय सदस्य तथा पूर्व विनाविभागीय मन्त्री राजलाल यादवले सम्वोधन गरेका थिए ।