काठमाडौंं ।  उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले औद्योगिकीकरणबिना मुलुकको संवृद्धि सम्भव नहुने बताएका छन् ।
उद्योग मन्त्रालयद्वारा आइतबार यहाँ आयोजित उत्कृष्ट महिला उद्यमी सम्मान कार्यक्रममा उनले उत्पादन र उद्यमशीलताले मात्रै आर्थिक संवृद्धि हुने भन्दै औद्योगिक वातावरण बनाउन सरकार लागिपरेको बताए ।

‘अबको अभियान आर्थिक संवृद्धि नै हो । अझै पनि औद्योगिक वातावरण बन्न सकेको छैन । त्यसैले उत्पादनमुखी र उद्यमशीलताको विकासका लागि मन्त्रालयले नीतिगत सुधारका काम गरिरहेको छ,’ मन्त्री पाण्डेयले भने ।

स्वदेशी उत्पादन र कच्चा पदार्थको प्रयोग तथा आत्मनिर्भरतातर्फ उन्मुख गराउने गरी उद्यमीलाई प्रोत्साहन गर्न मन्त्रालय लागिपरेको उहाँको भनाइ छ । मन्त्री पाण्डेयले मुलुकको विकास र संवृद्धिका लागि महिला तथा पुरुषको समान सहभागिताको खाँचो औँल्याए ।

उद्योग राज्यमन्त्री मेघराज नेपाली ‘निषाद’ले देशमा नीति धेरै भए पनि कार्यान्वयनपक्ष फितलो रहेकै कारण मुलुकको विकासले गति लिन नसकेको भन्दै समयसापेक्ष नीतिगत सुधार गरी औद्योगिक वातावरण सिर्जना गरिनुपर्नेमा जोड दिए ।

व्यवस्थापिका–संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिका सभापति भीष्मराज आङ्दाङ्बेले औद्योगिक व्यवस्थापन ऐनलाई परिमार्जन गरी महिला उद्यमीलाई प्रोत्साहन गर्ने र उत्पादित सामानको बजार व्यवस्थापनका लागि राज्यले विशेष जिम्मेबारी लिनुपर्ने बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले महिला उद्यमशीलतालाई बढावा दिन मन्त्रालयले पुरस्कारमात्रै नभई नीतिगत सुधारका काम गर्नुपर्ने बताए ।