काठमाडौं। नामिबियालाइ घरेलु मैदानमा दाेस्राे हार चखाउँदै नेपालले विश्वकपमा छनाैट खेल्ने सम्भावना बलियाे बनाएकाे छ ।

नामिबियासँग शनिबार र सोमबार दुवै खेलमा जित निकालेपछि नेपाल ८ राष्ट्र समावेश च्याम्पियनसिपको अंक तालिकामा पाँचौं स्थानमा उक्लेको छ । यसअघि स्कटल्यान्ड र पपुवा न्युगिनीसँगका चारै खेलमा पराजित भएको नेपालले अब ४ मुलुकसँग खेल्ने छ ।

अगस्टमा नेदरल्यान्ड्स र नोभेम्बरमा हङकङविरुद्ध उनीहरूकै देशमा खेल्नुपर्ने छ । २०१७ मा केन्यासँग हुने खेल नेपालमै हुनेछ ।

यस्तै यूएईसँगको खेल तटस्थ भूमिमा हुनेछ । २०१९ को विश्वकप छनोटका आधार पनि रहेको च्याम्पियनसिपका शीर्ष चार टोली २०१८ मा बंगलादेशमा हुने एकदिवसीय विश्वकप छनोट खेलका लागि सोझै पुग्नेछन् । विश्वकप छनोटका लागि १० राष्ट्रको भिडन्त हुनेछ, जसमा उक्त चार टोलीका साथै एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा शीर्ष ८ मा नपरेका चार राष्ट्र र डिभिजन २ बाट आउने दुई मुलुकको खेल हुनेछ ।

छनोटका शीर्ष २ राष्ट्रले २०१९ को विश्वकप खेल्न पाउने छन् । यी दुई र एक दिवसीय अन्तर्राष्ट्रिय वरीयतामा रहेका ८ गरी १० मुलुकबीच विश्वकप खेल हुनेछ ।