म्याग्दी । जिल्ला प्रहरी कार्यालय म्याग्दीले लागुऔषधसहित दुई जना युवालाई पक्राउ गरेको छ ।

पोखरा उपमहानगरपालिका–६ कास्कीका मनिष अधिकारी र आर्थर डाँडा– ५ पर्वतका कृष्ण रानालाई लागुऔषध (डाइजापाम)सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बेनीस्थित बसपार्क नजिकैको एक होटलमा बसेका उनीहरुलाई गोप्य सूचनाको आधारमा खानतलासी गर्दा ठूलो परिमाणको लागुऔषधसहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले बताउनुभयो ।

उनीहरुबाट डाइजापाम इन्जेक्सन २९ थान, लुपिजेसी इन्जेक्सन २८ थान, फेनरिगन २५ थान र गाजाँ ५ ग्राम बरामद गरिएको र थप अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनाएको छ । बिक्री वितरणका लागि अधिकारी र रानाले आगुऔषध राखेको हुनसक्ने प्रहरीको भनाइ छ ।

लागुऔषधसहित पक्राउ परेका उनीहरुलाई आज प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । पक्राउ परेको दुवै जना सवारीसाधनमा काम गर्ने सहयोगी रहेको र बेनीसम्म लागुऔषध ल्याउने अन्य व्यक्तिको समेत संलग्नता रहेकाले उनीहरुको समेत खोजी भइरहेको प्रनाउ खड्काले बताउनुभयो ।