सोल : उत्तर कोरियाले पुनः अर्काे आणविक क्षेप्यास्त्र परीक्षण गरेको बताइएको छ । दक्षिण कोरियाले शुक्रबार सो जानकारी दिएको हो । गएको केही समययता आणविक परीक्षणका कारण विवादमा पर्दै आएको उत्तर कोरियाले फेरिपनि अर्काे परीक्षण गरेको समाचार शुक्रबार प्राप्त भएको हो ।
उत्तर कोरियाको यो आणविक विवादको समाधान खोज्नका लागि भन्दै विश्वका नेताहरु संयुक्त राज्य अमेरिकामा उपस्थित भइरहेका बेला शुक्रबार फेरि उक्त देशले अर्काे ब्यालेस्टिक क्षेप्यास्त्र हानेको हो । दक्षिण कोरियाली सरकारले दिएको जानकारीअनुसार उत्तर कोरियाले उसको पूर्वी क्षेत्रतर्फ सो क्षेप्यास्त्र हानेको हो । उक्त क्षेप्यास्त्र समुद्रमा खसेको जनाइएको छ ।
 
उत्तर कोरियाले गएको फेब्रुअरी ६ मा लामो दुरीको रकेट प्रक्षेपणपछि निरन्तरता दिदै आएको भनिएको आणविक परीक्षणको यो अन्तिम शृंखला हो । शुक्रबारको यस परीक्षणका बारेमा भने उत्तरले केही प्रतिक्रिया दिएको छैन ।
दक्षिण कोरियाको पूर्वी नगर सान्दोकबाट शुक्रबार अपरान्ह १२.४५ बजे उत्तर कोरियाले सो परीक्षण गरेको दक्षिणको रक्षा मन्त्रालयले जानकारी दिएको छ ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले बिहीबारमात्र सार्वजनिक गर्नुभएको धारणामा संयुक्त राष्ट्रसंघको सुरक्षासम्बन्धी मापदण्डको प्रयोगगरी उत्तरलाई हदैसम्मको कारबाही गर्नुपर्ने बताएका थिए ।
उत्तर कोरियाका विरुद्धमा पछिल्लो समयमा अमेरिका तथा संयुक्त राष्ट्रसङ्घले लगाएको नाकाबन्दी विरुद्ध फेरि अर्काे परीक्षणको तयारी गरिरहेको सूचना प्राप्त भएको समाचारमा जनाइएको थियो ।
 
उत्तर कोरियाले गएको फेब्रुअरी ६ मा गरेको लामो दुरीको रकेट परीक्षणपछि पनि फेरि उसले अर्काे व्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको बताइएको छ । उत्तर कोरियाले शुक्रबार नै यस्तो क्षेप्यास्त्र परीक्षण गरेकोमा विश्वको चासो फेरि बढेको छ ।
केही हप्तामात्र अघि संयुक्त राष्ट्रसङ्घले उत्तरका विरुद्धमा नाकाबन्दी गरेको थियो । सो नाकाबन्दी उसका विरुद्धको अहिलेसम्मकै सबैभन्दा ठूलो रहेको पनि जनाइएको थियो ।
उत्तर कोरियाले पछिल्लो समयमा दिएको धम्की केवल उसको उत्तेजनात्मक प्रचारमात्र हो भन्दै यसबाट आफ्नो देशलाई अरु केही हानी गर्न नसक्ने दक्षिण कोरियाले बताउदै आएको छ ।
 
पछिल्लो समयमा उत्तर कोरियाले एकपछि अर्काेगरी क्षेप्यास्त्र परीक्षण गर्दै गएपछि यसका कारण उत्तर र दक्षिण कोरियाकाबीचमा निकै ठूलो तिक्तता छाएको बताइन्छ ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले आह्वान र आयोजना गरेकाे आणविक सम्मेलन बिहीबारदेखि संयुक्त राज्य अमेरिकामा सुरु भएको छ । उता उक्त सम्मेलन जारी रहेका बेला यता भने उत्तरले अर्काे क्षेप्यास्त्र परीक्षण गरेको छ ।
 
उक्त सम्मेलन निशस्त्रीकरण र यसका उपायहरुको खोजीमा केन्द्रित हुने भनिएको भएपनि यसको केन्द्रबिन्दु भने उत्तर कोरिया र उसले हालैका दिनमा जारी राखेको आणविक शस्त्रको होडबाजीलाई नै बनाइने बताइन्छ ।
तर यस सम्मेलनलाई दक्षिण कोरियाले भने बहुलट्ठीपूर्ण काम भनेको छ । उत्तर कोरियाले हतियारसम्मको आफ्नो पहुँचलाई वैधानिक नै भन्दै आएको छ ।
 
दक्षिण कोरियामा उच्च सुरक्षा सतर्कता
उत्तर कोरियाले अर्काे आणविक परीक्षण गर्ने सङ्केत प्राप्त भएको भन्दै आफ्ना सेनालाई दक्षिण कोरियाले उच्च सतर्कताका साथ प्रतिरक्षाका लागि तयार रहन निर्देशन दिएको बताइएको थियो ।
 
दक्षिण कोरियाली राष्ट्रपति पार्क गेउन हाइले सेनालाई उच्च रुपमा सतर्क रहन गतहप्ता देखि नै निर्देशन दिएकाे समाचारमा जनाइएको थियो छ । दक्षिण कोरियाले हालैका दिनमा उत्तरको खतरालाई विश्वव्यापी रुपमा नै उठाउदै आएको छ । साथै दक्षिण कोरियाका राष्ट्रपति हाइले देशव्यापी रुपमा सेनालाई आफ्ना प्रतिरक्षात्मक क्रियाकलापहरुलाई पनि अघि बढाउन निर्देशन दिएकाे बताइएको छ । पछिल्लो पटक शुक्रबार गरेको यस परीक्षणबाट दक्षिण कोरिया थप रुष्ट बनेको छ ।
 
कुनै पनि बेला उत्तरले शक्तिशाली परीक्षण गर्नसक्ने भन्दै दक्षिण कोरियाले कोरियाली प्रायद्वीपमा जारी यस पछिल्लो तनावको व्यवस्थापनका साथै उत्तर कोरियाले कानुनबिहीन रुपमा र कसैको आग्रहको पनि बेवास्ता गर्दै आणविक परीक्षण गर्दै आएको विषयप्रति विश्वको ध्यान उचित रुपमा पुग्नुपर्ने धारणा राख्दै आएको छ ।