काठमाडौं। भूकम्पको पुननिर्माण गर्नको लागि गठन गरिएको पुननिर्माण प्राधिकरणको ढिलाइप्रति प्रधानमन्त्री केपी शर्मा ओली असन्तुष्ट बनेको छन् ।

पुनर्निर्माण प्राधिकरणको परामर्श र निर्देशक दुवै समितिको अध्यक्ष समेत रहेका उनले पुनर्निर्माणमा भइरहेको ढिलाईमा असन्तुष्टि जनाएका हुन् । ‘यो गतिले पुनर्निर्माणको काम दशकौंसम्म पनि सकिँदैन ।

भूकम्प प्रभावित जिल्लाका प्रमुख जिल्ला र स्थानिय विकासअधिकारीहरुको भेलामा उद्घाटन गर्दै उनले भने, ‘किनभने सबै कुरा सकिसक्छ । मर्ने मानिस मरि सक्छन् । सिद्धिने मानिस सिद्धि सक्छ ।’

‘पोहोर बैशाख १२ गते भूईंचालो गयो । अर्को बैशाख १२ गते आईसक्यो । कारण जे सुकै होस हाम्रो ताल कछुवाको छ,’ उनले भने, ‘झन्डै–झन्डै एक महिनाभित्र गरिसक्नुपर्ने काम एक वर्षमा भएको छ ।’ प्रधानमन्त्रीले असन्तुष्टी जनाउँदै भने ।

‘हिजो बेलुका हुरी चल्यो । भएको त्रिपाल पनि उडायो । उडाए पनि मान्छे हावा हुरी पछि त्रिपाल खोजेर सुते । यो साधारण कुरा हैन नि,’ उनले भने, ‘हामीले रेस्क्यू नै गर्न सकेनौं । खुला आकाश मुनिका जनतालाई हिँउबाट रेस्क्यु गरेनौं । वर्षा आउन लाग्यो । वर्षामा पनि रेस्क्यू गर्न नसकिने भयो ।’

प्रधानमन्त्रीले सरकारी कर्मचारीको वाहानाप्रति व्यङ्ग गर्दै भने– ‘कहिले यो पुगेन, कहिले त्यो पुगेन भनेर पैसा बाँडिएको छैन,’ उनले प्रश्न गरे, ‘मलाई कसैले उपचार गर भनेको छैन । ट्याबलेट ख्वाइदे भनेको छैन, किन सुई लगाउने भनेर डाक्टरले हेरेर बस्न मिल्छ ? कोहि मान्छे पानीमा पर्‍यो । कसैले मलाई निकाल भनेको छैन भनेर हेरेर बस्न मिल्छ ?’

‘रानीपोखरीबाट पुनर्निर्माणको काम सुरु गर्‍यौं । तर काम कति भयो ?’ ओलीले प्रश्न गरे, ‘महाअभियान भनेर शंखघोष गर्‍यौं । शंखको ध्वनी मधुरो हुँदै छ ।

प्रधानमन्त्री ओलीले राष्ट्र नै संकटमा परेको बताउँदै संकटकालकै ढंगले काम गर्न कर्मचारीहरुलाई निर्देशन दिए । ‘ऐन हेरेर भूईंचालो जान्छ ? भूईंचालो ऐन÷नियम नहेरी आउने अनि हामीले रेस्क्यू गर्न ऐनरनियम मात्रै पल्टाएर बस्न मिल्दैन,’ ओलीले भने, ‘ऐन मिलेको छैन भने पछि मिलाउने हो । पहिलो रेस्क्यू गर्नुपर्‍यो नि ।’

कानुनको तयारी, प्राधिकरणको गठन र अरु कार्यविधि तयार गर्न समय लागेपनि अब पुननिर्माणको दैनिक काम पत्रपत्रिका तथा रेडियोबाट सार्वजनिक गर्न प्राधिकरणलाई उनले निर्देशन दिए ।