काठमाडौं। नेपाल पत्रकार महासङ्घले आफ्नो ६१ औँ स्थापना दिवसको अवसरमा मंगलबार बिहान प्रदर्शनीमार्गदेखि रत्नपार्कसम्म प्रभातफेरी कार्यक्रम गर्यो।
प्रभातफेरी भद्रकाली, सहिदगेट, सुन्धारा, नयाँसडक, वीर अस्पताल हुँदै रत्नपार्क पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभामा बोल्दै महासङ्घका अध्यक्ष डा. महेन्द्र विष्टले मुलुकको आर्थिक विकासलाई गति दिन पत्रकारितालाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने बताए।
अध्यक्ष विष्टका अनुसार सङ्घीय संरचनाअनुसार पत्रकार महासङ्घलाई अगाडि बढाउन महासङ्घले गृहकार्य गरिरहेको छ। महासङ्घका पूर्व अध्यक्ष हरिहर विरहीले मुलुकमा भएका ठूला आन्दोलनमा नेपाली पत्रकारिता जगत्ले केन्द्रमा रहेर काम गरेको स्मरण गरे। उनले भने– “मुलुकमा स्थापना भएको संविधान र लोकतान्त्रिक मूल्य मान्यता आमजनतामाझ पुगेका छैनन् ।
यसलाई आमजनतामा पुर्याउने चुनौती हाम्रो सामु छ।” पत्रकार महासङ्घको स्थापना दिवसका अवसरमा पूर्वराष्ट्रपति डा रामवरण यादव, नेपाल सरकार, राजनीतिक दलहरुबाट शुभकामना सन्देशहरु आएका छन्। महासङ्घकै स्थापना दिवस पारेर भोलि दिउँसो ३ बजे पत्रकार र राजनीतिक दलबीच मैत्रीपूर्ण फुटबल हुँदैछ। रासस