काठमाडौँ। सामाजिक सञ्जाल फेसबुक मार्फत चरित्र हत्या गरेको अभियोगमा हेटौँडा उपमहानगरपालिका बस्ने निरजबाबा उपनामले चिनिने निरजकुमार चौधरीलाई केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरीले पक्राउ गरेको छ ।
वैदेशिक रोजगारका सिलसिलामा साउदी अरबमा रहेका चौधरी फेसबुकमार्फत एक युवतीलाई साथी बनाएपछि जागिर छाडी काठमाडौँ आएका थिए ।
काठमाडौँ आएपछि ती युवतीलाई एक होटलमा लगी नसालु पदार्थ खुवाई अश्लील तस्बिर खिचेर सोही तस्बिर फेसबुकमार्फत पीडितलगायत फेसबुकका साथीलाई पठाई मानसिक पीडा दिएको अभियोगमा उनलाई पक्राउ गरिएको हो ।
उनले पीडितलाई कहीँकतै उजुरी गरे भौतिक कारबाही गर्ने जनाउँदै पटक पटक फोनमार्फत धम्क्याउँदै आएका थिए ।
पीडितलाई विभिन्न ठाउँमा बोलाई आफूसँग यौनसम्पर्क राख्न पनि उनले दबाब दिँदै आएको अनुसन्धानबाट खुल्न आएको छ ।
अभियुक्त चौधरीलाई मकवानपुर, हेटौँडास्थित बुद्धचोकबाट पक्राउ गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरेर थप अनुसन्धान जारी रहेको ब्युरोले जनाएको छ ।