काठमाडौ। साझा यातायातले काठमाडौं उपत्यकामा ३० वटा बस थप्ने भएको छ। काठमाडौं महानगरपालिकाको १० करोड रुपैयाँ सेयर लगानीमा ति बसहरु थप्न लागिएको साझा यातायातले जनाएको छ।
शहरी यातायात व्यवस्थित गर्ने उद्देश्यले ३० वटा बस खरिद गर्नेगरी आज साझा यातायात र अशोक ले ल्याण्डबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सम्झौतामा अशोक ले ल्याण्डका तर्फबाट गौरवकुमार र साझा यातायातका तर्फबाट अध्यक्ष कनकमणि दीक्षितले हस्ताक्षर गरे।
साझाका कामु कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेयले सबै बस गुणस्तरिय हुने बताए । उनका अनुसार बस ४० सिट क्षमताको हुने छ र उभिएर यात्रा गर्ने यात्रुहरु गरि करिब एक सय जनाले एकै पटक यात्रा गर्न पाउने छन् ।
उक्त बसहरुमा हाल साझामा दिदै आएको सम्पूर्ण सुविधा हुने छ । उक्त बस अपाङ्ग मैत्री हुनेछ । बसमा दुई ढोका हुनेछन् । ‘पछिल्लो ढोका ठूलो हुनेछ र जसले गर्दा अपाङ्गलाई यात्रा गर्न सहज हुन्छ,’ पान्डेयले भने ।
हाल साझाले नयाँ बसपार्कदेखि त्रिभुवन विमानस्थलसम्म ४, नयाँ बसपार्कदेखि लगनखेल बसपार्कसम्म ६ र लगनखेल बस पार्कदेखि बुढानिलकण्डसम्म ६ गरि १६ यातायात सञ्चालन गरिरहेको छ ।