एजेन्सी। बेल्जियमको राजधानी ब्रसेल्समा भएको आत्माघाती आक्रमणमा दुई दाजुभाई संलग्न भएको पाइएको छ । आक्रमणमा खालिद र ब्राहिम अल बकारु नामका दुई जनाको संलग्नता पुष्टि भएको हो ।
ब्राहिमले एयरपोर्ट र खालिदले रेल स्टेशनमा आक्रमण गरेका थिए । एयरपोर्टमा भएको आक्रमणमा ११ जना र रेल स्टेशनमा भएको आक्रमणमा २० जनाको मृत्यु भएको थियो ।
एयरपोर्टमा आक्रमण गर्नेमध्येका दुईजनाको अझै पहिचान हुन सकेको छैन । ति मध्ये एक जनाको आक्रमणकै क्रममा मृत्यु भएको थियो भने एक जना फरार छन् ।
मंगलबार भएको उक्त आक्रमणपछि बेल्जियममा राष्ट्रिय शोक घोषणा गरिएको छ । बुधबार बिहान ११ बजे एक मिनेट मौनधारण समेत गरिएको थियो ।
बेल्जियमका राजा र रानीले एयरपोर्टमा पुगेर घाइतेहरुमध्ये केहीसँग कुराकानी समेत गरेका थिए ।
उक्त आक्रमणमा घाइते भएका १६१ जना अझै अस्पतालहरुमा उपचार गराइरहेका छन्, जसमध्ये १५० जनालाई आईसीयुमा राखेर उपचार गरिएको छ ।
आक्रमणपछि गरिएको अनुसन्धानको क्रममा एक नोट समेत भेटिएको छ । उक्त नोटमा ‘म के गर्छु मलाई नै थाहा छैन । म सुरक्षित छैन तर मैले आत्मासमर्पण गरे भनेपनि मलाई जेल हाल्नेछन्’ भनेर लेखिएको छ ।
दुवैजनामाथि प्रहरीले यसअघि नै नजर राख्दै आएको थियो । उनीहरु यसअघि पनि आपराधिक घटनामा संलग्न रहँदै आएको त्यहाँको प्रहरीले जनाएको छ ।