इटहरी। पूर्वको पर्यटकीय सहरका रुपमा परिचित धरान उपमहानगरपालिकामा एकसयको हाराहारीमा प्याराग्लाइडिङका सौखिन उड्ने भएका छन् ।

नेपालकै पर्यटकीय क्षेत्रमध्येको पोखरापछि प्याराग्लाइडिङका लागि राम्रो मानिएको धरानको आकाशमा यही चैत १२ देखि १४ गतेसम्म साहसिक प्याराग्लाइडिङ खेल प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।

पूर्वी नेपालको पर्यटनको प्रवद्र्धन र विकास गर्ने उद्देश्यले पूर्वमा नै पहिलोपटक चौथो माउन्टेन स्पोर्टस फेस्टिवलअन्तर्गत राष्ट्रियस्तरको प्याराग्लाइडिङ एकुरेसी च्याम्पियनसिपमा यति धेरै सङ्ख्यामा खेलाडीले सहभागिता गराउन लागिएका हुन् । राष्ट्रिय खेलकुद परिषद् र नेपाल प्याराग्लाइडिङ एन्ड ह्याङग्लाइडिङ एसोसिएसनको आयोजना तथा एक्सट्रिम धरानको संयोजनमा धरानमा चौथो माउन्टेन स्पोर्टस फेस्टिभलअन्तर्गत राष्ट्रियस्तरको प्याराग्लाइडिङ एकुरेसी च्याम्पियनसिपको अन्तिम तयारी पूरा भएको पत्रकारसम्मेलनमा बताइएको छ ।

विसं २०६७ मा पहिलोपटक परीक्षण उडान सफल भएसँगै धरानमा पछिल्लो समयमा प्याराग्लाइडिङको व्यावसायिक उडानसमेत सुरु भएको छ । स्काई एडभेन्चर प्रालिले गत असोजदेखि धरानमा व्यावसायिक रुपमा प्याराग्लाइडिङ उडान सुरु गरेसँगै धरानमा साहसिक खेल पर्यटकको आगमन सुुरु भएको एक्सट्रिम धरानका अध्यक्ष तथा कार्यक्रमका संयोजक लेखमणि जिमीले बताए ।
प्याराग्लाइडिङको उत्सव मानिने यो कार्यक्रमले पोखरामा मात्रै केन्द्रित प्याराग्लाइडिङलाई अब पूर्वमा विस्तार गर्न सहयोग पुग्ने बताइएको छ ।
प्रतियोगितामा पहिलो हुनेले नगद २५ हजार, ट्रफी र मेडल तथा दोस्रो हुनेले नगद १५ हजार, ट्रफी र मेडल तथा तेस्रो हुनेले नगद १० हजार, ट्रफी र मेडल प्राप्त गर्ने आयोजकले जानकारी दिएका छन् ।