काठमाडौं। प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमाका दिन मनाइने रङको चाड फागुपूर्णिमा पहाडी क्षेत्रमा मंगलबार भव्यताका साथ मनाइँदैछ । तराईमा भने बुधबार मनाइने छ ।
वसन्त ऋतुको आगमनको उल्लाससँगै एक अर्कामाथि विभिन्न प्रकारका रङ हालेर एकअर्कालाई रङ्गिन बनाएर मनाइन्छ ।होलीको दिन पुरानो कटुता समाप्त गरेर र दुस्मनी बिर्सेर एकआपसमा खुसी साट्ने दिनका रुपमा मनाइन्छ ।
फागुपूर्णिमाका अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढका हुल तथा जत्था हातमा रङ र रङ्गिन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै उत्साह र उमङ्गका साथ रङ्गीन पर्वका रूपमा मनाउने गरिन्छ ।
विष्णुभक्त प्रल्हादलाई आगोमा जलाउन खोज्दा पापी प्रवृत्तिकी होलीका आगोमा भष्म भएको खुसीयालीमा होली मनाउन थालिएको पौराणिक कथन छ । होलीको अवसरमा सरकारले सार्बजनिक विदा दिएको छ ।
फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि चीर गाडेपछि होली सुरू भएको मानिने यो पर्व पूणिर्माको रातमा उक्त चीर ढालेर जलाएपछि समाप्त भएको ठानिन्छ ।
फागुन शुक्ल अष्टमीको दिन शनिबार भीमसेन मन्दिरमा राखिएको लिङ्गलाई टोल टोलमा पसलै पिच्छे घुमाएर पूजा गरी पुनः मन्दिरको पाटीमा राखिने परम्परा छ ।
होलीमा प्रयोग गरिने रङहरूको आ-आफ्नै महत्व रहेको छ । नीलो रङलाई धर्मयुद्धको प्रतीक मानिन्छ । पहेँलो रङ भगवान विष्णु र श्रीकृष्णको प्रिय रङ हो । भगवान गणेशलाई सबै रङ मन पर्ने तथा रातो रङलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ ।