काठमाडौँ। नेपाल कीटजन्य रोगको उच्च जोखिममा परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
कीटजन्य जीवबाट हुने १० प्रकारका रोगको नेपाल उच्च जोखिममा रहेको हो ।

कालाज्वर, जापानिज इन्सेफ्लाइटिस, डेङ्गु, चिकनगुनिया, वेष्ट नाइल भाइरस, चाँदीपुरा भाइरस, हात्तीपाइले तथा स्क्रव टाइफस रोगबाट नेपाल जोखिममा रहेको महाशाखाका प्रमुख डा बाबुराम मरासिनीले जानकारी दिए ।
यी रोगमध्ये धेरै रोग एडिस नामक लामखुट्टेको टोकाइबाट हुने भएकाले लामखुट्टे नियन्त्रणका काम गर्न आवश्यक देखिएको छ ।

भुसुना, लामखुट्टे तथा मुसाबाट सर्ने घातक रोगको नियन्त्रणका लागि आवश्यक बजेट नहुँदा कार्यक्रम गर्न नसकिएको डा मरासिनीले बताए ।
नेपालमा बढ्दो अव्यवस्थित सहरीकरणले त्यसबाट हुने फोहरका कारण लामखुट्टेको बढ्दो विकासले यस्तो रोगको जोखिम बढाएको हो ।

निर्देशक डा मरासिनीले भभने– “उपत्यका र बढी गर्मी हुने तराईका जिल्लामा बिना योजना बढिरहेको सहरीकरणका कारण फोहरमैलाको व्यवस्थापन गर्न नसक्दा ठूला रोग फैलाउने लामखुट्टेको पनि वृद्धि भइरहेको छ जसले रोगको खतरालाई अझ बढाएको छ ।”

काठमाडौँ, पोखरा, चितवन, भैरहवा, नेपालगन्ज, वीरगन्ज, विराटनगरजस्ता ठूला व्यापारिक जिल्लामा बढ्दो जनसङ्ख्यासँगै कीटजन्य रोगको जोखिम पनि उच्च रहेको छ ।
समयमै यस्ता रोग नियन्त्रणका लागि सरकारले कार्यक्रम नचलाउने हो भने यी रोग महामारीको रुपमा कुनै पनि समय फैलने खतरा रहेको डा मरासिनीको भनाइ छ ।

नेपालमा समयमै कीटजन्य रोग नियन्त्रणका लागि योजनाबद्ध कार्यक्रम नल्याउने हो भने यसले धेरै ठूलो समस्या निम्त्याउने पक्का छ ।
नेपालमा एसिड नामक लामखुट्टेबाट डेङ्गु, चिकनगुनिया, चाँदीपुरा भाइरस, मलेरियाजस्ता डरलाग्दा रोगको खतरा भने भुसुनाको टोकाइबाट कालाजार र मुसाको टोकाइबाट हुने स्क्रव टाइफस, प्लेगजस्ता डर लाग्दा ३७ रोगको खतरा रहेको रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

बढ्दो गर्मीसँगै लामखुट्टे पनि सक्रिय हुने भएकाले यसको टोकाइबाट बच्नु नै सबैभन्दा उपयुक्त उपाय भएको चिकित्सकको भनाइ छ ।

लामखुट्टेको टोकाइबाट बच्न साँझमा घर बाहिर नबस्ने, लामा बाहुला भएका लुगा लगाउने, हातगोडामा तोरीको तेल लगाउने, राति सुत्दा झुल टाँगेर सुत्ने तथा घर वरपर पानी जम्ने खाल्टाखुल्टी भएमा पुर्नेजस्ता उपाय अपनाउन पनि चिकित्सकले सुझाएका छन् ।

यीबाहेक पनि सरकारी तवरबाट नै लामखुट्टे नियन्त्रणका लागि सहरमा ढलको उचित व्यवस्थापन तथा कीटजन्य रोग नियन्त्रणका लागि उपलब्धिमूलक कार्यक्रम गर्न आवश्यक देखिएको छ ।

यदि माथि उल्लेखितमध्ये कुनै एक रोगले पनि महामारीको रुप लिएमा यसको नकारात्मक असर नेपालको अर्थतन्त्र, उद्योग, शिक्षा तथा पर्यटनसमेत पर्ने भएकाले सावधानी अपनाउनु पर्ने देखिन्छ ।