काठमाडौँ। एमाओवादीका अध्यक्ष पुष्पकमल दाहलले आगामी एक वर्षभित्र पार्टीको महाधिवेशन गर्ने प्रस्ताव प्रस्तुत गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केन्द्रीय समितिको बैठकमा उनले पार्टी महाधिवेशनको प्रस्ताव गरेका हुन् । पार्टी प्रवक्ता दीनानाथ शर्माका अनुसार वडादेखि प्रदेश तहसम्मको अधिवेशन गर्ने र एक वर्षभित्र महाधिवेशन गर्ने प्रस्ताव भएको हो ।
यस्तै, दाहालले पार्टीलाई सङ्गठित, व्यवस्थित बनाउँदै विभिन्न रुपमा माओवादी दल तथा समूहसँग एकता गर्ने प्रस्ताव पेश गरेका छन् ।
उनले जनतालाई पुनःविश्वासमा लिएर पार्टीलाई एक नम्बरको बनाउने र राष्ट्रिय समस्या समाधानमा प्रतिबद्ध भएर लाग्न जनपरिचालन एवम् सङ्गठन सुदृढीकरण अभियान सञ्चालन गर्ने प्रस्तावमा उल्लेख गरेका छन्।
यस्तै, पार्टी परित्याग गरी नयाँ शक्तिमा लागेका नेताको स्थानमा पदपूर्ति गर्न सचिव वर्षमान पुनको संयोजकत्वमा एक कार्यदलको प्रस्ताव गरिएको छ । उक्त कार्यदलको प्रतिवेदनका आधारमा आवश्यक निर्णय लिइनेछ ।