काठमाडौँ। सरकारले नेपाल आयल निगम बाहेक अन्य कुनै निकायले इन्धन आयात गर्न नपाउने व्यवस्था बैठकले गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को आजको बैठकले निजीक्षेत्रलाई इन्धन खरिद गर्न दिने निर्णय बदर गरेको हो ।
यसअघि आजै व्यवस्थापिका–संसद्, सार्वजनिक लेखा समितिले विराट पेट्रोलियमलाई इन्धन बिक्री बन्द गर्न निर्देशन दिएको थियो । नेपाल आयल निगमले प्रतिलि रु ९९ मा पेट्रोल बिक्री गर्दै आए पनि ‘युरो ४’ मापदण्डको पेट्रोल भन्दै विराटले १३३ रुपैयाँमा बिक्री गरेको थियो ।
गत कात्तिक २ गते राजपत्रमा सूचना प्रकाशन गरी सरकारले विराट लगायत तीन दर्जनभन्दा भन्दा बढी निजी व्यापारिक संस्थालाई इन्धन आयात र बिक्री गर्न इजाजत दिएको थियो । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको मित्र राष्ट्र चीनको आसन्न भ्रमणलाई बढीभन्दा बढी उपलब्धिमूलक बनाउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आजको बैठकले प्रधानमन्त्रीको चीन भ्रमण फलदायी बनाउन थप गृहकार्य गर्ने निर्णय गरेको सरकारका प्रवक्ता शेरधन राईले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले यही चैत ७ देखि १४ गतेसम्म चीन भ्रमण गर्दैछन् । सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चिनियाँ एक्जिम बैङ्कमार्फत नेपालले प्राप्त गर्ने २२ अर्ब ७४ करोड ९२ लाख १० हजार ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।
चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई सहयोगस्वरुप दिएको करिब ४९ करोड पचास लाख अनुदान पनि स्वीकार गर्ने निर्णय भएको सूचना तथा सञ्चारमन्त्री राईले पत्रकारहरुलाई बताए ।
कर्णाली अञ्चलका पाँचै जिल्ला र सेतीको बाजुरा जिल्लामा देखिएको खाद्यान्न सङ्कट समाधान गर्नका लागि ती स्थानमा अविलम्ब खाद्यान्न पुयाउन सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिने निर्णय बैठकले गरेको छ ।