काठमाडौँ। भारतको नयाँदिल्लीबाट काठमाडौँ उडान भर्न लागेको नेपाल एयरलाइन्सको आरए–२०६ विमानमा बम भएको हल्ला गलत भएको पुष्टी भएको छ ।
उडनका लागि तयारी अवस्थामा रहेको उक्त विमानमा बम रहेको भन्ने अपरिचित व्यक्तिले भारतीय सुरक्षा निकायलाई जानकारी दिएपछि उक्त विमानबाट यात्रुलाई ओह्रालेर सुरक्षा जाँच गरिएको थियो । तर, जाँच गर्दा उक्त विमानमा कुनै विष्फोटक पदार्थ फेला नपरेको बताइएको छ ।
विमान नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो १२:४० मा काठमाडौँ उड्ने तयारीमा थियो । सुरक्षा जाँचपछि विमान साँझ चारबजे दिल्लीबाट काठमाडौंका लागि उडेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।