काठमाडौ। रंगहरुको पर्व होली आजबाट विधिवत रुपमा शुरु भएको छ । बसन्तपुरमा होलीको चिर ठड्याएसंगै होली पर्व सुरु भएको हो।

काठमाडौंको हनुमानढोकाको दक्षिणतर्फ बसन्तपुरमा आज बिहान तीन तले चीर ठड्याएर होली पर्व सुरु गरिएको हो ।

चीर ठड्याउन नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज बिहान ७ बजेर ४७ मिनेटको साइत जुराएको थियो ।

प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिन रंगीचंगी कपडाका टुक्रा झुन्ड्याइएको बाँसको तीनतले चीर ठड्याएसँगै मुलुकभर होलीको माहोल सुरु हुन्छ ।

बसन्त ऋतुको स्वागतसँगै साताव्यापी रुपमा होली खेल्ने चलन छ । बसन्त ऋतुको स्वागतमा मनाइने यस पर्वलाई वसन्तोत्सव वा मदनोत्सवका रुपमा लिइन्छ ।

आपसमा मैत्री एवम् सद्भावपूर्वक खेलिने यो पर्वमा ख्याली, टप्पा र बसन्त राग गाउँदै नाच्दै अविर लगाएर शुभकामना आदानप्रदान गरिन्छ।

पुर्णिमाको रातमा चीर ढालेर टुंडिखेलमा प¥याई दाह गरेपछि होली पर्व समाप्त हुन्छ । यस वर्षको होली ९ गते उपत्यकासहित पहाडी जिल्लामा र १० गते तराईका जिल्लामा मानाइदै छ ।