एजेन्सी।  आइसिसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटमा न्युजिल्याण्डले विजयी सुरुवात गरेको छ । सुपर टेन अन्तर्गत मंगलबार राति नागपुरमा भएको खेलमा न्युजिल्याण्डले घरेलु टोली भारतलाई ४७ रनले हराएको हो ।

सुपर टेन अन्तर्गत समूह ‘दुई’ को खेलमा न्युजिल्याण्डले प्रस्तुत गरेको एक सय २७ रनको लक्ष्य पछ्याएको भारत १८ दशमलव १ ओभरमा मात्रै ७९ रन बनाउँदा अल आउट भयो ।

भारतका कप्तान महेन्द्रसिंह धोनीले ३० बलमा ३०, विराट कोहलीले २७ बलमा २३ तथा रविचन्द्रन आश्विनले २० बलमा १० रन बनाउनु बाहेक अरु ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले पूरै २० ओभर खेल्दै सात विकेटको क्षतिमा एक सय २६ रन बनायो । उसका कोरी एण्डरसनले ३४, लुके रोनचीले नटआउट २१ तथा मिचेल सन्टनरले १८ रन बनाए ।

भारतले घरेलु मैदान र दर्शकको साथको फाइदा लिने अपेक्षा गरिएपनि त्यस अनुसार प्रदर्शन गर्न सकेन । सन् २००७ मा पनि भारत न्युजिल्याण्डसँग पराजित भएको थियो । तर पछि राम्रो प्रदर्शन गरेर उपाधि जितेको थियो ।