काठमाडौ।  नेपाली काँग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले तत्कालका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक नरहेको  बताएका छन्।

मंगलबार आफ्नै निवास बुढानिलकन्ठमा बधाइ दिन पुगेका नेपाल प्रेस युनियनका पदाधिकारीसँग उनले आफूले योग्यता र क्षमताको आधारमा सबैलाई जिम्मेवारी दिने बताए ।

उनले प्रमुख दल मिलेर सरकार बनाउँदा तानाशाही प्रवृत्ति बढ्ने भन्दै सरकारलाई साइजमा राख्नका लागि बलियो प्रतिपक्ष अनिवार्य हुने र काँग्रेस अहिले सरकारमा जाने भन्दा बलियो प्रतिपक्षको भूमिका निभाउने पक्षमा रहेको बताए। उनले काँग्रेस सरकार ढाल्ने खेलमा सहभागी हुने भन्दै नआत्तिइकन काम गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरे।

काँग्रेस सभापति देउवाले पार्टीको केन्द्रीय समितिमा महाधिवेशनमा पराजित भएकाहरुलाई मनोनित गर्ने पनि बताए। उनले पार्टीको निर्वाचन समितिले प्रमाणपत्र दिएलगत्तै अन्य नेताहरुसँग सल्लाह गरेर रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, गगन थापा लगायतलाई केन्द्रीय सदस्य मनोनित गर्ने बताए।

काँग्रेस सभापति देउवाले मधेशवादी दलहरुले उठाउँदै आएको सीमांकन हेरफेरको विषयमा लचकता अपनाएर सहमति जुटाउने समेत बताए।