रियो डि जेनेरो।  देशले भोग्नु परेको अप्रत्यासित आर्थिक मन्दी र भ्रष्टाचारविरुद्ध करिब ३३ लाख जनताले गत आइतबार सडकमा उत्रिई ब्राजिलभरी प्रदर्शन गरेका छन् ।

विरोध प्रदर्शनका क्रममा ब्राजिलका दुई सयभन्दा बढी सहरमा हजारौँ व्यक्ति एकत्रित भै देशको झण्डा तथा ‘दिल्मा सरकार शासन छोड् – पीटी पार्टी सत्ता छोड्’ जस्ता नारा लेखिएको प्लेकार्ड, ब्यानर र बेलून हातहातमा लिई पैदल यात्रा गरेका छन् ।

ब्राजिलको राष्ट्रिय झण्डाको परिचायक रङ्ग पहेँलो र हरियो रङ्गको एकनासको लुगा लगाएका सबै प्रदर्शनकारीले दिल्मा रुसेफको राजीनामा र उनकै पार्टीका पूर्व राष्ट्रपति लुइस इनासियो लुला डा सिल्भाको गिरफ्तारीको मागसमेत गरेका छन् ।

साओ पाउलो, रियो डि जेनेरो र ब्राजिलियाका जनताले यसअघि यतिको विशाल विरोध प्रदर्शन देखेका थिएनन् ।

ब्राजिलको सबभन्दा ठूलो महानगर साओ पाउलोमा मात्र करिब १४ लाख जनसहभागिता रहेको स्थानीय अधिकारीहरुले बताएका छन् ।

निजी क्षेत्रको समाचार प्रसारण संस्था ग्लोबोले जनाएअनुसार विरोध प्रदर्शनकारीहरुले दुई किलोमिटर भन्दा लामो पैदल यात्रा गरेका थिए ।

त्यस्तै रियो डि जेनेरोमा करिब १० लाखले र राजधानी ब्राजिलियामा अवस्थित संसद भवन नेसनल कँग्रेस भवन परिसर बाहिर करिब ५० हजार प्रदर्शनकारी भेलाभई दिल्मा सरकार शासन छोड भन्ने नारा लगाए ।

ब्राजिलमा पेट्रोब्राज नामक सरकारी स्वामित्वको इन्धन उत्पादन कम्पनीलाई हतियार बनाई ठूलठूला रकमको भ्रष्टाचार भइरहने बताइन्छ ।

विगतका धेरै वर्षदेखि शासन सत्तामा रहेका पूर्व राष्ट्रपति लुला डा सिल्भा र उहाँकै पार्टीको वर्तमान राष्ट्रपति दिल्मा रुसेफसमेत भ्रष्टाचारकाण्डमा मुछिएका छन् ।

पेट्रोब्राज भ्रष्टाचारकाण्ड छानबिन गर्न गठित एक आयोगले ठूलो सङ्ख्याका राजनीतिज्ञहरु, पेट्रोब्राजकै उच्चपदाधिकारीहरु तथा पेट्रोब्राजसम्बन्धित निर्माण कम्पनीका पदाधिकारीहरुलाई सरकारी स्वामित्वको संस्थालाई प्रभावमा पारी अनुचित ठेक्कापट्टा सम्झौता गरे गराएको भन्ने आरोप लगाएको र उनीहरुलाई पक्राउ गर्नुपर्ने सिफारिस गरेको थियो ।

अहिलेका प्रदर्शनकारीहरुले सो आयोगको प्रतिवेदन कडा रुपमा लागू गर्नसमेत माग गरेका छन् ।

यसैक्रममा साओ पाउलोका राज्यस्तरीय सरकारी वकिलले समेत पूर्व राष्ट्रपति लुलालाई तत्काल गिरफ्तार गरी कारबाही चलाउन स्थानीय अदालतसमक्ष मागपत्र दर्ता गरेका छन् ।

यता राष्ट्रपति दिल्माले भने एक पत्रकार सम्मेलनको आयोजना गरी केही प्रदर्शनकारीले राजीनामा मागी होहल्ला मच्चाउँदैमा आफूले लुसुक्क राजीनामा नदिने बताएकाछन् ।

‘मैले संविधानको उल्लङ्घन गरेको भन्नेहरुले ठोस प्रमाण देखाउ अनिमात्र म विचार गरौँला अन्यथा निर्वाचित राष्ट्रपति विरुद्ध होहल्ला मच्चाउँदैमा म राजीनामा दिन्न’ उनले भने ।

यस अतिरिक्त ब्राजिलको संसदको प्रमुख प्रतिपक्षी दल ‘ब्राजिलियन सोसियल डेमोक्र्याटिक पार्टी (पीएसडीबी)’ का सदस्यहरुउपर पनि केही गर्न नसकेको नालायक नपुसंकहरु भन्ने आरोप लगाउँदै प्रदर्शनकारीहरुले आफ्नो रिस पोखेका छन् ।