सप्तरी। राजविराज–भारदह सडकखण्डअन्तर्गत सप्तरीको बभनगामाकट्टी–३ स्थित तोपा सडकखण्डमा सोमबार साँझ जन्ती बोकेको बस दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।

भारदहबाट जन्ती लिएर राजविराजतर्फ आउँदै गरेको बा १ ख ९४८१ नम्बरको बस बे्रकफेल भई अचानक पल्टिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । सो बसमा सवार सात जना घाइते भएका छन् ।

घाइते हुनेमा मधुवापुर गाविस–२ बस्ने १४ वर्षीय नीरजकुमार मण्डल, सोही ठाउँका २५ वर्षीय नितेशकुमार मण्डल, बारा गढीमाई सीतापुरका ४५ वर्षीय मो कलाम आजाद मियाँ र भारतको सुपौल निवासी २० वर्षीय जीतेन्द्र मण्डलसहितका रहेको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए।

घाइतेको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।