काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय सदस्यका उम्मेदवार बनेका धेरै हस्तीहरू पराजित भएका छन् ।

२५ खुला केन्द्रीय सदस्यको निर्वाचनमा ९० जनाले उम्मेदवारी दिएका थिए । आज सार्वजनिक मतपरिणाम अनुसार पद्मनारायण चौधरी एक हजार ३०४, लक्ष्मणप्रसाद घिमिरे ४४५, गोविन्दराज जोशी एक हजार १११, चिरञ्जीवी वाग्ले ७४३, विनयध्यज चन्द ४४३, तारानाथ रानाभाट ९४०, मनमोहन भट्टराई एक हजार १६२, सूर्यमान गुरुङ ६८५, अशोक कोइराला एक हजार १२५, रामकृष्ण ताम्राकार ८६५, लक्ष्मणबहादुर बस्नेत ७४७, डिना–महालक्ष्मी उपाध्याय एक हजार २४९ मतसहित पराजित भए ।

पद्मनारायण चौधरी एक हजार ३०४ मतसहित २६औं नम्बरमा परेर पराजित भएभने २५ औं नम्बरमा विजयी भएका मीनेन्द्र रिजालले एक हजार ४२० मत प्राप्त गरे ।

त्यस्तै, पार्टीका युवा हस्तीहरू उदयशम्शेर राणा एक हजार ३०२, जिपछिरिङ लामा एक हजार २८०, पुष्करनाथ ओझा ७१४, रामहरि खतिवडा एक हजार, शोभाकर पराजुली ६०५, ध्रुव वाग्ले ८६६, पुष्पराज पराजुली ५६८, बालकृष्ण दाहाल ३२७, मित्रसेन दाहाल ५८३, मोहन ज्ञवाली ६८६, महेन्द्र कुमार शर्मा ६४६, टेकराज पौडेल ४६९ र हुर्मतकुमार न्यौपाने २०३ मतसहित पराजित भए।

विजयी सदस्यहरूमध्ये दुईजना रमेश लेखक र विश्वप्रकाश शर्मा केन्द्रीय समितिमा नयाँ अनुहार हुन् भने बाँकी सबै यसअघिको केन्द्रीय समितिका सदस्य हुन् ।

२५ खुला सदस्यमा सुजाता कोइराला एक मात्र महिला उम्मेदवार विजयी भएभने अर्का महिला उम्मेदवार डिना महालक्ष्मी उपाध्याय एक हजार २४९ मत प्राप्त भएपनि पराजित भए ।

२३ फागुनमा पदाधिकारीसहित ६४ सदस्यका लागि भएको निर्वाचनको अब प्रदेश केन्द्रीय सदस्यको मात्र मत परिणाम आउन बाँकी छ ।

खुला सदस्यमा प्रतिस्पर्धा गरेका केही बुद्धिजीवी नेतासमेत पराजित भए । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष गोविन्दराज पोखरेल एक हजार ९६, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहाल ४४८, नेपाल बार एसोसिएनका पूर्वअध्यक्ष प्रेमबहादुर खड्का २०४, पूर्वराजदूत सुरेशचन्द्र चालिसे २१०, पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव सुशील नाहटा २५५ मत प्राप्त गरी पराजित भए ।