पोखरा। दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्ठन (सार्क)को ३७औँ मन्त्रिपरिषद् बैठकको सिलसिलामा कार्यक्रम समितिको बैठक आज पोखरामा सुरु भएको छ ।
पर्यटकीय नगरी पोखरास्थित पोखरा ग्रान्ड होटलमा सुरु बैठकको अध्यक्षता परराष्ट्र मन्त्रालयका सहसचिव मणिप्रसाद भट्टराईले गरेका छन् । बैठकअन्तर्गत आज र भोलि कार्यक्रमसमितिको बैठक हुने सहसचिव भट्टराईले जानकारी दिए ।
कार्यक्रम समितिमा सदस्य राष्ट्रका परराष्ट्र/बाह्य मामिला मन्त्रालयका सहसचिवको सहभागिता रहेको छ । बैठकमा १८औँ सार्क सम्मेलनपछिका सार्कका गतिविधि, विगतका बैठकका निर्णय र कार्यान्वयनको समीक्षा गरिनेछ ।
दुईदिने उक्त बैठकले तयार पारेको प्रतिवेदन स्थायी समितिको बैठकमा प्रस्तुत हुनेछ ।
निर्धारित कार्यक्रमअनुसार चैत ३ गते आठवटै सदस्य मुुलुकका परराष्ट्र सचिवहरू सम्मिलित स्थायी समितिको बैठक हुनेछ भने चैत ४ गते सदस्य राष्ट्रका परराष्ट्र/बाह्य मामिला मन्त्रीस्तरीय बैठक बस्नेछ ।
हाल नेपाल सार्कको अध्यक्ष भएकाले उक्त बैठक यहाँ आयोजना भएको हो । सार्कको इतिहासमा सरकारले पहिलोपटक मन्त्रिपरिषद् बैठक राजधानी बाहिर आयोजना गरेको हो ।