काठमाडौं। ओमानलाई हराउँदै बंगलादेश विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिताको सुपर टेनमा प्रवेश गरेको छ ।

समुह ए अन्तर्गतको अन्तिम लिग खेलमा आइतबार बंगलादेशले ओमानलाई ५४ रनले हरायो । खेलमा पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा २ विकट गुमाएर १ सय ८० रन बनायो ।

जवाफमा १ सय ८१ रनको विशाल लक्ष्य पछ्याएको ओमानले व्याटिङ सुरु गरेपछि वर्षाले दुई पटक खेल अवरुद्ध भयो ।

यसपछि १२ ओभरमा १ सय २० रनको नयाँ चुनौती पाएको ओमानले ९ विकेट गुमाएर ६५ रन मात्रै जोड्न सकेपछि बंगलादेश डि.एल मेथडको आधारमा ५४ रनले विजयी भयो ।

जीतसँगै बंगलादेशले विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिताको सुपर टेनमा ठाँउ बनाएको छ ।

समुह चरण पार गर्दै अफ्गानिस्तानले यसअघि नै सुपर टेनमा ठाउँ बनाइसकेको छ । सुपर टेनका खेलहरु भोलिबाट सुरु हुँदैछन् ।