ताप्लेजुङ। ताप्लेजुङ सदरमुकाम फुङ्लीङ नजिकै रहेको दोखुमापर्ने धुसेनीस्थित सरकारी वनमा शनिबार साँझदेखि ६ बजेदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन ।

ताप्लेजुङ नगरपालिका–८ मा पर्ने उक्त वन आगलागीबाट सयौँ हेक्टर जङ्गल जलेर नष्ट भएको छ । शनिबार साँझबाटै जिल्लास्थित नेपाल प्रहरी, शसत्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सक्रियतामा आगलागी केही नियन्त्रणमा लिइएको भए पनि नियन्त्रणमा आइनसकेको स्थानीयवासी रुपनारायण भट्टराईले जानकारी दिए।

आगालागी हुनासाथ दमकलसहित सोही क्षेत्रमा प्रहरी, सेना र स्थानीयवासीको सक्रियतामा नजिकै रहेका बस्ती आगलागीबाट बचेका छन् । आगलागी सुरु हुनासाथ स्थानीयवासीले प्रहरीलाई खबर गरेपछि जिल्लाबाट पुगेको सुरक्षा टोलीले अग्निरेखा कोरी छेउछाउका बस्ती क्षति हुनबाट बचाएका हुन् ।

सो आगलागीबाट बस्तीमा पुग्ने सम्भावना नभए पनि जङ्गलभित्रको आगलागी पूर्णरुपमा नियन्त्रण गर्न समय लाग्ने देखिएको छ । आगलागीको उच्च जोखिम रहेको उक्त क्षेत्रमा यसअघि पनि बर्सेनि आगलागी हुँदै आएको छ ।