वीरगन्ज। सात महिनाअघि २६ कर्मचारी रहेको मुर्लीचोकस्थित सम्झना होटलमा अहिले दशजनाले मात्र काम गर्छन् । भारतको अघोषित नाकाबन्दी र मधेस केन्द्रित दलको आन्दोलनका कारण यसबीचमा होटेल सुनसान रह्यो । तलब खुवाउन नसकेपछि कर्मचारीलाई रोएर बिदाइ गर्नु परेको सञ्चालक पशुपतिविक्रम शाहले बताए ।

हाल यहाँका शैक्षिक संस्था, यातायात, बजार, कलकारखाना सबैको अवस्था सामान्य भइसकेको छ । इन्धनको सहज वितरण भइसकेको छैन तर पनि फेरि आन्दोलन भएमा जनसहभागिता पहिलाजस्तो हुने छाँट छैन ।

शाहको अनुभवमा पाँच दशकको पर्सा बसाइमा पछिल्लो सात महिनाको जस्तो कष्ट अहिलेसम्म भोग्नु परेको थिएन । गत असोज ३ गते नयाँ संविधान जारी हुनुअगावै सङ्घीयताको सवालमा मधेसी दलले तराई मधेसमा आमहडताल सञ्चालन गरेका थिए भने संविधान आएपछि भारतको अघोषित नाकाबन्दी र मुख्य नाका रक्सौलमा धर्ना हुँदा पेट्रोलियम पदार्थको आपूर्तिका कारण मुलुकभरको जनजीवन प्रभावित भएको थियो ।

“नाकाबन्दी र हडतालले कहिल्यै नपाएको दुःख भोगियो, आन्दोलनबाट कसले के पायो थाहा भएन तर अब फेरि आन्दोलनको कुरा गर्नु यहाँका जनतालाई थप पीडा दिनु हो,” विसं २०२४ मा होटल खोलेका शाहले भने – “काठमाडौँलाई झुकाउन गरेको आन्दोलनले तराईलाई नै झुकाएको छ । काठमाडौँमा पैसा हुनेले प्रतिलिटर रु पाँच सयसम्मको पेट्रोल खरिद गरे । तराईका जनताले के गर्ने रु”

पञ्चायतकालमा नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्तावमा समर्थन नगरेको छिमेकी भारतकै प्रोत्साहनमा मधेसी दलले आन्दोलन गरेको टिप्पणी गर्दै शाहले दिउँसो आन्दोलन गर्ने कार्यकर्ताले राति राति दुई नम्बरी कामसमेत गरेको आरोप लगाउँदै भने – “सायद उनीहरुलाई आन्दोलन नगरे रोजीरोटी खोसिने पो हो कि रु”

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारसँगको वार्ता सकारात्मक नभएको भन्दै पुनः आन्दोलनको चेतावनी दिँदै आएको छ । स्थानीय छोटेलाल कापड त्यस प्रकारको नाकाबन्दी र हडताल पुनः हुन्छ भन्नेमा आफूहरुले कल्पना नगरेको उल्लेख गर्दै भने – “केका लागि आन्दोलन रु जति पनि मार हुन्छ जनताले खेप्नुपर्छ, अब आन्दोलन भएमा यहाँका जनताले सहँदैन ।”

कापडले बन्दका समयको शुल्क मिनाहा गर्ने प्रतिबद्धताविपरीत यहाँका अधिकांश विद्यालयले शुल्क लिइरहेको उनको गुनासो छ । उहाँका छोरा गौतम विद्यालय पढ्छन् । पानीट्याङ्की निवासी रामनारायण साह भन्छन् – “जनता थाकिसके । पाउने केही छैन । कति आन्दोलनमा जानु रु”

सामाजिक संस्था जिल्ला समन्वय समिति, पर्साका महासचिव रामप्रवेश साह पटकपटक बन्द, हडताल र अस्थिरता ल्याउनुभन्दा वार्ता र संवादबाट समस्याको निकास निकाल्नुपर्नेमा जोड दिन्छन् । उनले आन्दोलनबाट विद्यालयमा पढाइ प्रभावित भएको र त्यस समय आफूहरुले विद्यालय निर्बाध खुलाउन पहल गरेको जानकारी दिए ।

लामो समयदेखि पर्सामा रही हाल नेवाः सेकुवा पसः सञ्चालन गरेका धनलाल डङ्गोल पनि अर्को आन्दोलन होला भन्ने कल्पना नगरेको बताउँछन् । हडतालका समयमा कर्मचारी दिनभर सुतेर बस्नु परेको र साँझ ५ देखि ९ बजेसम्म पसल खोलेर जेनतेन धानेको उनले बताए । दिउँसो आन्दोलनमा रहने नेता तथा कार्यकर्ता पनि राति आफ्नोमा खान आउने भएकाले कहिलेकाहीँ ढिलोसम्म पनि खोल्न दिइएको उनले बताए ।

औद्योगिक क्षेत्र वीरगन्जमा आन्दोलनका समयमा प्रभावित भएका अधिकांश उद्योग हाल सञ्चालनमा आइसकेका छन् । आन्दोलन पहिल्यै आन्तरिक अव्यवस्थापनका कारण बन्द रहेको वीरगन्ज चिनी मिल्स र कृषि औजार कारखाना लिमिटेड भने सञ्चालनमा आएको छैन । यहाँ डाबर नेपाल, सूर्य नेपाल, जगदम्बा स्टिल, त्रिवेणी टेक्सटायल, बिएसटी पाइप, नेपाल फर्मास्युटिकल ल्याब, नारायणी मिल्सलगायत ठूला उद्योग छन् ।

बन्दका बेला उद्योगी आन्दोलनकारीलाई चन्दा दिन बाध्य पारिएको थियो । विद्युत् कटौतीको असर यहाँ पनि उस्तै छ । तराई मधेस लोकतान्त्रिक पार्टीको विद्यार्थी सङ्गठनका काम गरेर राजनीतिबाट जीवन नचल्ने ठानी हाल स्थानीय एक टेलिभिजन मर्मत केन्द्रमा काम गर्ने प्रभात सिंह पार्टीहरुले युवा पुस्तालाई उपयोग मात्र गर्ने र आफ्नो दुनो सोझ्याउने गरेको टिप्पणी गर्दै अर्को आन्दोलन भए जनताले अस्वीकार गर्ने दाबी गरे ।