चितवन।  नाकाबन्दी खुलेपनि इन्धन आपूर्ति सहज हुन नसक्दा सवारी रोकेर काम थालेको नारायणगढ–मुग्लिन सडकखण्ड फराकिलो बनाउने कार्य लक्ष्य अनुरुप हुन सकेको छैन ।
हरेक दिन दिउँसो चारघण्टा यातायात आवागमन बन्द गरेर काम अगाडि बढाइएको छ । बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म यातायात आवागमन बन्द गरेर काम गरिँंदै आएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालकाअनुसार काम तीव्र गतिमा गर्न दैनिक चार हजार पाँचसय  लिटर डिजेल आवश्यक पर्दछ ।

हाल दैनिक एक हजार पाँचसय  लिटरको हाराहारीमा मात्रै ठेकेदारले डिजेल उपलब्ध भइरहेको उनको  भनाइ छ । स्थानीय प्रशासनको सिफारिसमा नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट डिजेल ल्याएको भए पनि आवश्यकताको ३३ प्रतिशत मात्रै आपूर्ति भएको छ । ‘ठूला उपकरण पूर्णरुपमा सञ्चालन हुन नसक्दा सोचेजति काम हुन सकेको छैन’उनले भने ।

निर्माणलाई तीव्रता दिन सो सडकमा दैनिक तीनसय ५० जना मजदुर तथा ८५ जना व्यवस्थापकीय जनशक्ति खटिएको छ । यस्तै १९ ओटा स्काभेटर, ६ ओटा लोडर, पाँचओटा जेसीबी र ३६ ओटा ट्रिपर कामका लागि प्रयोग गरिएका छन् । हाल सो सडकमा भित्ता काट्ने, पर्खाल लगाउने, माटो भर्ने, कल्भर्ट राख्ने जस्ता काम भइरहेका छन् ।

विश्व बैङ्कको रू.  दुई अर्ब ९० करोडको आर्थिक सहयोगमा सो सडक निर्माण थालिएको हो । एसियन हाईवेअन्तरतको ए एच ४टु खण्ड नारायणगढ मुग्लिन सडकखण्ड पर्दछ । इन्जिनियर खनालकाअनुसार चीन हुँदै नेपालको कोदारी, काठमाडौँं, नागढुङ्गा नौबिसे, मुग्लिन नारायणगढ, हेटाँैंडा र वीरगन्जबाट भारतको मुजफ्फरपुर हुँदै जाने यो सडक एसियन हाईवेको एक खण्ड हो ।

आँपटारीदेखि दासढुङ्गासम्म भारतीय बिएलए तथा नेपाली श्रेष्ठ निर्माण कम्पनी, त्यसपछिको सिमलतालसम्म भारतीय उड हिल तथा नेपाली लामा निर्माण कम्पनी र सिमलतालदेखि मुग्लिनसम्म भारतको सुप्रिम र नेपाली रौताहा निर्माण कम्पनीलाई ठेक्का दिइएको छ ।

इन्धन समयमै सहज आपूर्ति हुन नसके लामो समयसम्म सवारी रोकेर सडक निर्माण गर्नुपर्ने देखिएको छ । सबै उपकरण चल्नसके वैशाख १५ गतेसम्ममा मुख्य मुख्य काम सम्पन्न गर्ने लक्ष्य लिइएको भए पनि सो अनुरुप काम हुनसकेको छैन ।