काठमाडौँ। अपाङ्गता भएका व्यक्तिका लागि स्वावलम्बन जीवन पद्धति केन्द्रले आज आयोजना गरेको कार्यक्रमका वक्ताले अपाङ्गता भएका व्यक्तिमाथिको सामाजिक दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्ने बताएका छन् ।

अपाङ्गता भएका व्यक्तिको महाअभियान (एसिया ट्राई) २०१६ को उद्घाटनका अवसरमा उनीहरुले मानवनिर्मित भौतिक संरचना सडक, सडकपेटी, घर भवन, सार्वजनिक सेवाका भवन, विद्यालय, कार्यालय, सवारीसाधन अपाङ्गमैत्री हुनुपर्ने आवश्यकतामा जोडदिएका हुन् ।

महाअभियानको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको इतिहासमा पहिलोपटक भएको महान जनयुद्ध र त्यसपछिका मधेस आन्दोलन तथा अन्य आन्दोलनबाट अपाङ्ग भएका योद्धाको सम्मान गर्नुपर्ने बताए ।

उनले अपाङ्गता भएका व्यक्तिले आफ्नो अधिकार प्राप्तिका लागि गरेको आन्दोलनको फलस्वरुप सङ्घीयता, धर्मनिरपेक्षता, समानता तथा समावेशीतासहितको अग्रगामी संविधान जारी भएको बताए ।

उनले २००७ सालदेखिको जनताको इच्छा बमोजिमको संविधान कार्यान्वयनको प्रक्रियालाई तीव्ररुपमा अघि बढाउन राजनीतिक दल तथा सरकारसहित सबैको ध्यानाकर्षण गरे । उपराष्ट्रपति पुनले भने–‘‘समृद्ध नेपालको निर्माणतर्फ हाम्रो ध्यान केन्द्रित गर्नुपर्छ ।”

राष्ट्रिय मानवअधिकार आयोगका कार्यबाहक अध्यक्ष प्रकाश वस्तीले नेपालमा अपाङ्ग र सपाङ्गमा कुनै भेद्भाव नरहेको बताउँदै अपाङ्गता भएका व्यक्ति कुनै पनि दृष्टिकोणले असक्षम नरहेको बताए ।

कार्यक्रमका सभापति एवम् महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयका सचिव मधुप्रसाद रेग्मीले मन्त्रालयले समुदायमा आधारित पुनः स्थापना कार्यक्रम, अपाङ्गता भएका व्यक्तिलाई भत्ता, विभिन्न परीक्षामा सहयोगी राख्न पाउने व्यवस्था, तथा आयकरमा छुट, सवारीसाधनमा छुट दिँदै आएको बताए ।

राष्ट्रिय अपाङ्ग महासङ्घका अध्यक्ष सुदर्शन सुवेदीले अपाङ्गतामाथि हेरिने दृष्टिकोणमा परिवर्तन ल्याउने कार्य निकै चुनौतीपूर्ण रहेको बताए । सो महाअभियानमा जापान, कोरिया, ताइवान, पाकिस्तान, भारत, बङ्गलादेश, कम्बोडिया, भियतनाम, फिलिपिन्स तथा नेपालका गरी कुल २५० जनाले भाग लिइरहेका छन् ।