काठमाडौं। महाधिवेशनको रोचक भिडन्त मानिएको महामन्त्री पदको परिणामकस्को पोल्टामा पर्ला भन्ने उत्सुकता कांग्रेसी नेता–कार्यकर्तादेखि आम जनतामा उत्तिकै रहेको छ ।

महामन्त्री पद कांग्रेस पार्टीभित्र सभापतिपछिको अर्को आकर्षक मानिन्छ । दोस्रो महत्वको पद भएकैले यो निर्वाचन रोचक बन्न पुगेको भने होइन ।

यो निर्वाचन रोचक बन्ने कारण दुई तीन छन् । एक त कांग्रेसको महामन्त्री बन्न तीन यस्ता नेता भिडिरहेका छन्, जस्को कांग्रेस राजनीतिमा अलग महत्व, विशेषता र योगदान रहेको छ ।

अझ रोचक त यस पदमा सहोदर ज्वाई–ससुरा नै भिडिरहेका छन् । कांग्रेसमा अत्यधिक जनसम्पर्क रहेका र शेरबहादुर देउवा र रामचन्द्र पौडेलकै समकालिन मानिने नेता अर्जुननरसिंह केसी र युवा पुस्ताका आईकन झै बनेका युवा नेता उनैका ज्वाई गगन थापा एक साथ एकै पदमा भिडिरहेका छन् ।

अर्कातर्फ डा. सशांक कोइराला भिडेका छन् । जो राजनीतिक जीवनमा लामो योगदानका कारणभन्दा कांग्रेसकामा कोइराला परिवारको लिगेसी बन्दै मैदानमा उत्रेका छन् ।

उनीसँग वीपी कोइरालाको पुत्र हुनुको बलियो आधार रहेको छ । जसका कारण कांग्रेसको यो महाधिवेशनले वंश उत्तराधिकार छान्छ कि राजनीतिक र वैचारिक उत्तराधिकार भनेर कांग्रेसजन र आम जनताले निकै उत्सुकतापूर्वक हेरिरहेका छन् ।

नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत आज महामन्त्री र कोषाध्यक्ष पदको मतगणना सुरु हुने भएको छ। मतगणना दिउँसो १ बजेपछि पार्टी कार्यालय सानेपामा गरिने केन्द्रीय निर्वाचन समितिका सदस्य प्रदीप पराजुलीले बताए।

१ बजेपछि मतगणना गरिने समझदारी भएपनि मतगणनाअघि गर्नुपर्ने उम्मेदवारका प्रतिनिधिहरुसँग छलफल बाँकी नै रहेको उनले जानकारी दिए। ‘१ बजेपछि मतगणना गर्ने भनेका छौं तर उम्मेदवारका प्रतिनिधिहरुसँग छलफल गरेर सुरु गर्नेछौं उनले भने। महामन्त्री र कोषाध्यक्षको मतपत्र एउटै भएकाले एकैपटक मतगणना गर्न लागिएको हो।

महामन्त्रीमा अर्जुन नरसिंह केसी, विपीपुत्र डा. शशांक कोइराला र गगन थापा प्रतिस्पर्धामा छन्। कोषाध्यक्षमा भने चित्रलेखा यादव, सीतादेवी यादव र उमाकान्त चौधरी प्रतिस्पर्धामा छन्।

महामन्त्री र कोषाध्यक्षको मतगणना सकिएपछि मात्र केन्द्रीय सदस्यहरुको मतगणना गरिने निर्वाचन समितिका सदस्य प्रदीप पराजुलीले जानकारी दिए। कांग्रेसमा सभापतिको मत परिणाम भने सोमबार राती नै सार्वजनिक भएको छ। जसमा शेरबहादुर देउवा १८ सय २२ मत ल्याएर विजयी भएका छन्।