काठमाडौं। गिरिजाप्रसाद र सुशील कोइरालासँग पराजित भएका देउवा संस्थापनमा देखिएको प्रस्ट विवादको फाइदा उठाउँदै यसपटक भने रामचन्द्र पौडेललाई ५२६ मतान्तरले पराजित गर्दै पार्टी सभापति बने ।
रुवाखोलादेखि सानेपासम्म:
शेरबहादुर देउवाको जन्म सन् १९४६ जुन १४ मा डडेल्धुराको असिग्राम गाविस– ६ रुवाखोलामा किसान परिवारमा भएको हो । देउवाले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर तथा कानुनमा स्नातक गरेका छन् । उनले लन्डन स्कुल अफ इकोनोमिक्सबाट मानार्थ डिग्रीसमेत हासिल गरेका छन् ।
देउवा नेपाल विद्यार्थी संघका संस्थापक सदस्यमध्येका एक हुन् । उनी संघको दोस्रो महाधिवेशनबाट अध्यक्षमा निर्विरोध चयन भएका थिए । उनी राजनीतिकै सिलसिलामा पटक–पटक गरी नौ वर्ष जेल बसेका थिए । ०४८ को संसदीय निर्वाचनमा उनी डडेल्धुराबाट विजयी भए । गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा गठित सरकारमा उनी गृहमन्त्री थिए । ०५१ र ०५६ को निर्वाचनमा पनि डडेल्धुराबाट निर्वाचित भए ।
०६४ को पहिलो संविधानसभा र दोस्रो संविधानसभामा निर्वाचनमा समेत उनी निर्वाचित भएका थिए । दोस्रो संविधानसभामा उनी डडेल्धुरा र कैलाली– ६ मा निर्वाचित भएका थिए ।
०५२ भदौ २७ मा पहिलोपटक प्रधानमन्त्री बनेका देउवा सबैभन्दा धेरैपटक प्रधानमन्त्री बन्ने नेतामध्ये एक हुन् । तीनपटकसम्म प्रधानमन्त्री भएका उनी तत्कालीन राजा ज्ञानेन्द्र शाहबाट दुईपटक बर्खास्तमा परे ।
पार्टीभित्र चर्को अन्तर्संघर्षका कारण कारबाहीमा परेपछि उनले ०५९ असारमा नेपाली कांग्रेस (प्रजातान्त्रिक) पार्टी स्थापना गरे । संविधानसभा निर्वाचनअघि ०६४ मा भने मूल पार्टी कांग्रेससँग एकीकरण भयो । देउवा ०६७ मा काठमाडौंमा भएको १२आँै महाधिवेशनमा सभापतिमा सुशील कोइरालासँग ३३५ मतले पराजित भएका थिए ।
०७० माघमा भएको कांग्रेस संसदीय दलको नेताको चुनावमा पनि देउवा कोइरालासँगै पराजित भए । त्यसअघि ०५७ मा पोखरामा सम्पन्न नवौँ महाधिवेशनमा पनि सभापतिको उम्मेदवार भएका उनी गिरिजाप्रसाद कोइरालासँग पराजित भएका थिए । देउवाको विवाह गृहमन्त्री पदमा बहाल रहेकै अवस्थामा ४५ वर्षको उमेरमा डा. आरजुराज्यलक्ष्मी राणासँग भएको थियो । देउवादम्पतीका एक छोरा छन् ।