काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता एवम् १३ औँ महाधिवेशनका सभापतिका उम्मेदवार शेरबहादुर देउवाको जन्म विसं २००४ जेठ ३० गते रुवाखोला असिग्राम-५ डडेल्धुरामा भएको हो । हाल उनी बुढानिलकण्ठ नगरपालिका भद्रकालीमा बसोबास गर्दै आएका छन् ।
उनी विसं २०१७ पछिको राजनीतिक घटनाक्रमबाट नेपाली राजनीतिमा प्रेरित भएका हुन् । त्रिविबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा पनि स्नातक देउवा सोही विषयमा लन्डन स्कुल अफ इकोनमिक्सका रिसर्च फेलो रहिसकेका छन् ।
देउवा एक छोराका पिता छन् । उनकी धर्मपत्नी आरजु पनि अहिले व्यवस्थापिका–सांसद् छिन् ।
नेता देउवा २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचन तथा विसं २०६४ र २०७० मा भएको संविधानसभाको निर्वाचनमा डडेलधुरा जिल्लाबाट विजयी देउवाले गृहमन्त्री तथा पटक पटक प्रधानमन्त्री समेतको जिम्मेवारी सम्हालिसकेका छन् ।
उनी अहिले डडेलधुराबाट व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्छन्। विसं २०५१ मा भएको मध्यावधि चुनावपछि उनी कांग्रेसको संसदीय दलको नेतृत्व गर्दै विसं २०५२ मा पहिलो पटक नेपालको प्रधानमन्त्री बनेका थिए ।
विसं २०५९ मा प्रधानमन्त्री हुनुभएका उनी त्यसको दुई वर्षपछि २०६१ सालमा पुनः प्रधानमन्त्री बनेका थिए । नेपाली कांग्रेसको विभाजनपछि उनी नेपाली कांग्रेस (प्रजातान्त्रिक)को सभापति बनेका थिए । कांग्रेस र कांग्रेस(प्रजातान्त्रिक) को एकतापछि उनी नेपाली कांग्रेसको वरिष्ठ नेता भएका हुन् ।
उनी विसं २०५६ मा माओवादी समस्या समाधानका लागि गठित उच्चस्तरीय समितिका अध्यक्ष थिए । प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका देउवा नेविसङ्घका प्रथम सभापति हुन् । उनी सुदूरपश्चिममा कांग्रेसका प्रभावशाली व्यक्तित्व मानिन्छन् ।
देउवाले भारत, चीन, भुटान, माल्भ्दिस, श्रीलङ्का, थाइल्यान्ड, जापान, कतार, दक्षिण कोरिया, बेलायत, जर्मनी, नर्वे, फ्रान्स, स्वीटजरल्यान्ड, ग्रीस, बेल्जियम, संयुक्त राज्य अमेरिका, कोलम्बिया, डेनमार्क, अस्ट्रेलिया लगायत मुलुकको भ्रमण गरेका छन् ।
यसअघि पार्टीको ११ औँ र १२ औँ महाधिवेशनमा समेत देउवा पार्टी सभापति पदको उम्मेद्वार भएका थिए ।