काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाको जन्म विसं २००६ मा झापामा भएको हो ।
राजनीतिक जीवनको प्रारम्भमा कम्युनिस्ट आन्दोलनमा सक्रिय रहेका सिटौला २०३६ सालको जनमत सङ्ग्रहपछि कांग्रेस राजनीतिमा प्रवेश गरेका हुन् । उनी झापा जिल्ला सभापति हुँदै नेपाली कांग्रेसको केन्द्रीय राजनीतिमा आएका हुन् ।
विसं २०५० मा भएको उपनिर्वाचनमा झापाबाट सांसद निर्वाचित भएका सिटौला २०५६ सालको संसदीय निर्वाचनमा पनि विजयी भएका थिए ।
विसं २०५७ सालमा पोखरामा भएको १०औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका नेता सिटौलाले त्यसबेला पार्टी प्रवक्ताको भूमिकासमेत निर्वाह गरेका थिए । उनले उद्योग राज्यमन्त्री, गृहमन्त्री र उपप्रधानमन्त्रीको कार्यभारसमेत सम्हालिसकेका छन् ।
विसं २०५९ असोज १९ गतेको प्रतिगमनपछि भूमिगत नेकपा माओवादीसँग वार्ता गर्न तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको विश्वास पात्रका रुपमा नेता सिटौला खटिएका थिए ।
माओवादीसँगको शान्तिवार्तालाई निष्कर्षमा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका नेता सिटौला गृहमन्त्री भएकै बेला सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा पराजित भएका थिए ।
कांग्रेसको १२औँ महाधिवेशनपछि सभापति सुशील कोइरालाको मनोनीत महामन्त्री बन्न सफल उनी दोस्रो संविधानसभा निर्वाचनमा झापाबाट विजयी भएका थिए ।
दोस्रो संविधानसभामा संविधान मस्यौदा समितिको सभापति भएर सिटौलाले संविधानको मस्यौदा निर्माणमा पनि महत्वपूर्ण योगदान गरेका थिए ।
दोस्रो संविधानसभाबाट संविधान जारी गर्न पार्टी महामन्त्री, प्रधानमन्त्री सुशील कोइरालाको विश्वास पात्र सहयोगी र मस्यौदा समितिको सभापतिका रुपमा उनको भूमिका महत्वपूर्ण छ ।
कांग्रेसभित्र पारिवारिक विरासतको बहस भइरहेका बेला नेता सिटौलाले पूर्वप्रधानमन्त्री एवम् सभापति गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको वैचारिक विरासत आफैँ भएको दाबी गर्दै सभापतिमा विजयी हुने बताउँदै आएका छन् ।