ललितपुर। हाल एनेकपा (माओबादी) र मोहन वैद्यले नेतृत्व गरेको नेकपा–माओवादी क्रान्तिकारीबीच पार्टी एकताका प्रयासहरु सकारात्मक रुपमा अगाडी बढेका छन् । २०५२ सालमा संगै जनयुद्ध लडेका शक्तिहरु गुट र फुट पछि फेरी एकताको नजिक पुगेकोमा माओवादी आन्दोलनमा लागेर शाहदत प्राप्त गरेका परिवार, बेपत्ता परिवार, घाईते र अपांगता भएका हरुलाई थप एक पटक हर्षित बनाएको छ । मुलतः मोहन वैद्य नेतृत्वको तत्कालिन नेकपा–माओवादीले फुटको औचित्य पुष्टि गर्न नसक्दा सो पार्टीमा आवद्ध अधिकाँश नेता–कार्यकर्ताहरु नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीमा आवद्ध भएपछि वैद्य माओवादीको अस्तित्व नैं संकटमा पर्न लागेको बिश्लेषकहरुको भनाई रहदै आएको छ ।

प्रचण्ड नेतृत्वको एनेकपा माओवादी र वैद्य समूहबीच पार्टी एकताको सवाल अन्तिम चरणमा पुगेको वैद्य माओवादीका एक नेता रामबहादुर थापा बादलले जनाएका छन् । यद्यपी पार्टी एकता हुन नदिने केहि तत्वहरु दुवै पार्टीमा सल्बलाउन थालेका छन् भने तीनलाई ‘साईड’ लगाउदै जसरी पनि पार्टी एकता गर्नैपर्नेमा अधिकाँश नेता–कार्यकर्ताको माग रहेको छ ।

करिव एक बर्ष अघि एनेकपा माओवादी पार्टीका अध्यक्ष प्रचण्डले राजधानीमा आयोजित एक कार्यक्रममा पार्टि एक हुन्छ भने आफु सामान्य कार्यकर्ता हुन तयार रहेको अभिव्यक्ति दिएपछि यी दुई पार्टीबीच चाँडै एकता हुने विश्वास गरिएको थियो ।

नेकपा– मओबादीका अध्यक्ष मोहन वैद्यले सोहि कार्यक्रममा भावनामा बगेर र मुखले बोलेर मात्रै पार्टी एकता नहुने तर बोलेको कुरा कार्यान्वयन गर्ने र दुबै पार्टिको नीति तथा सिद्धान्त मिलेमा पार्टी एकता कुनै नौलो बिषय नभएको भन्दै प्रचण्ड सामूहलाई व्याङ्ग्य गरेका थिए । यता संगै जनयुद्ध लडेर क्रान्तिकारी कम्युनिष्ट पार्टी खेली सो पार्टीको महासचिव बनेका मणी थापा पनि सबै कम्युनिष्हरु एक नभए उनीहरु टुक्रा टुक्रा भएर सिद्धिने या सबैको हातमा हतकडी लाग्ने बताउँछन् । उनी कम्तिामा पनि संगै जनयुद्ध लगेका शक्तिहरुबीच एकता भएमा अन्य बामपन्थी दलहरु संग पनि कार्यगत एकता गर्दे अगाडी बढ्न सकिने तर्क पेश गर्छन् । उनी पार्टी एकता निशर्त हुनु पर्नेमा जोड दिंदै आएका छन् ।

जनयुद्धका अर्का सहयात्री नेकपा (माओबादी) का संयोजक मातृका यादव तत्कालका लागि सहकार्य गरेर अगाडी बढ्नुपर्ने बताउँदै आएका छन् । उनको तर्क छ पार्टी एकता सशर्त हुनुपर्छ । निशर्त रुपमा कुनै पनि हालतमा पार्टी एकता हुनै नसक्ने उनको धारणा रहँदै आएको छ । उनी भन्छन्– पार्टीको नीति, बिधि तथा शिद्धान्त एक भए मात्रै पार्टी एकता हुन्छ नत्र भने मिल्न सक्ने मुद्धामा मात्रै कार्यगत एकता गर्न सकिन्छ ।

आम नेपाली जनताको माग पनि यहि छ कि सवै माओवादीहरु ब्यक्तिवादी स्वार्थ हरु छोड्दै जनतालाई माओवादी नेताहरुले पटक पटक बाँडेका आश्वासनहरु पुरा गर्नका लागि, देशमा बिकासको मूल फुटाउनका लागि, भूकम्पले ध्वस्त पारेका संरचनाहरु पूनःनिर्माण, आर्थिक क्रान्ति सम्पन्न गर्नका लागि र संविधानको सफल कार्यान्वयनका लागि पनि माओवादीका सवै धाराहरु मिल्नुको कुनै पनि बिकल्प छैन ।

यदि पहिलो चरणमा छ चोईटामा बिभाजन भएका माओवादी शक्तिहरु मिल्न सकेको खण्डमा उनीहरुको सामूहिक प्रयासले दोस्रो चरणमा अन्य बाम्पन्थी धाराका शक्तिहरु संग पनि कार्यगत एकता र पार्टी एकताको लागि सार्थक प्रयास गर्न सक्छ । हाल एनेकपा माओवादी पार्टी र मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी क्रान्तिकारीबीच पार्टी एकता आमागी चैत महिनाको पहिलो साता हुन लागेको चर्चा बाहिर आएको छ । यो चर्चा संगै कतिपय लोभि पापी मन भएका नेताहरु पार्टी एकता पछि आफ्नो पद घटुवा हुने हो कि भन्नेमा चिन्तित बन्न थालेका छन् ।

यदि पार्टी र देश बन्छ भने ती नेताहरुले आफ्नो ब्यक्तिवादी चरित्रलाई तिलाञ्जली दिन सक्ने परिपाटी र चरित्रको विकास गर्नुपर्छ । मुखले पार्टी एकता हुनुपर्छ भनेर फलाक्दै हिंड्ने अनि मलाई फल्नो पद नभई हुँदैन भन्ने कारणले गर्दा नैं कम्युनियटहरु टुट, फुट र बिखण्डनमा फँसेका हुन् ।

पार्टी एकताका लागि सवैले लचिलोपना अपनाउनु पर्ने छ । अमुक र काल्पनिक शिद्धान्त भन्दा पनि देश र जनतालाई प्रत्यक्ष रुपले सम्बोधन हुने खालका कृयाकलापहरु गर्दै आर्थिक सम्पन्न्तामा जोड दिने खालका कार्यलाई तत्कालै खगाडी बढाईहाल्नु पर्ने छ । होईन भने पार्टी फुट्ने जोडिने र फेरी फुट्ने कार्य नदोहोरिएला भन्न सकिदैन ।

पार्टी एकताका लागि भनेर नैं एनेकपा माओावदी निकट क्रान्तिकारी पत्रकार संघको यहि फाल्गुण ७ र ८ गते काठमाडौंमा हुने भनिएको प्रथम ऐतिहासिक राष्ट्रिय सम्मेलन स्थगन गरिएको छ । त्यसैगरी अन्य भतृ संस्थाका अधिवेशनहरु पनि स्थगित भएका छन् । दुई पार्टीबीच एकताको चर्चा संगै यीनका भातृ संगठनमा कसले नेतृत्व गर्ने भन्ने सवाल पनि यतिबेला घनघच्चि तवरले चलिरहेकै छन् ।

अवको नेतृत्व चयनमा गुटको भन्दा पनि एकताको नतृत्व हुन जरुरी छ । दुवै पार्टीका भातृ संगठनमा सर्वमान्य र सर्वस्वीकार्य नेतृत्व चयन हुनुपर्ने वर्तमान आवश्कता रहेको छ । पार्टीहरुले नामको मात्रै एकता नगरुन्, तीनीहरुको कार्यशैली पनि एकतृत र एकिकृत हुन जरुरी छ ।

पार्टी एकताको कार्यक्रम हलबाट निस्किएर फेरी पनि नेताहरुले गुटको भेला र वैठक सञ्चालन नगरुन् । त्यस्ता नेता र कार्यकर्तालाई सवैले खवरदारी गर्न सक्नुपर्छ अनिमात्रै पार्टी एकताको औचित्य पुष्टि हुन्छ । यदि नेताहरुमा यो गुण, क्षमता र ईच्छाशक्ति छैन भने पार्टी एकताको च्यातिएको खोल नओडेकै बेस ! यसले माओवादी एकता कि ए ! कता ? भन्ने प्रश्न ते¥र्याउला भन्नेमा आशंका उब्ज्याउने पक्का छ ।